शेयेर गर्नुहोस
समाधान समाचार
टीकापुर १७ साउन/ सुदूरपश्चिममा आज सनिवार एक सय ६८ जनामा कोरोना पुष्टि भएको ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ६६ जना, बझाङका ५१ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका नौँ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
धुलिखेल अस्पतालमा भएको परीक्षणमा कैलालीका थप २७ जनामा संक्रमण देखिएको उनले बताए। यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० र बझाङका २३ गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ।अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीसपाथिभेराका ३/३ जना र मष्टा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
सनिवार एक सय ६८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ९२ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय २८ जनामा संक्रमण पुष्टि भएको छ।