गुडिमुन्टेद्वारा बाढी पीडितलाई राहात वितरण

शेयेर गर्नुहोस


निरा काफ्ले
टीकापुर १७ साउन /
भजनी नगरपालिका वडा नं. ८ सोनाहाफाँटाका बाढी पीडितहरुलाई गुडिमुन्टे जोडीको समूहले राहात वितरण गरेको छ ।
गत बुधबार आएको बाढीका कारण प्रभावितहरुका लागि गुडिमुन्टे जोडीको समूहले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा एक सय जार पानी वितरण गरेको हो । प्रत्येक वर्ष गाईजात्राको अवसर पारी आफ्नो वार्षिकोत्सव कार्यक्रम गर्दै आएको गुडिमुन्टे जोडीको समूहले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सार्वजनिक स्थानमा कार्यक्रमहरु गर्न नसकिने अवस्था भएपछि सामाजिक उत्तर–दायित्वतर्फ बाढी पीडितहरुलाई सहयोग गरेको समूहका सह–संयोजक झलनाथ खनालले बताएका छन् ।
उनले बाढी पीडित क्षेत्रमा खानोपनीको चरम अभाव रहेको जानकारी पाएलगत्तै समूहले एक सय जार पानी बाढी पीडित प्रभावित क्षेत्रमा वितरण गरेको बताएका छन् ।
त्यस्तै, समूहका सल्लाहाकार भरत भण्डारीले गुडिमुन्टे जोडीको समूह कलाकारिता क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि अग्रसर रहँदै आएको बताउँदै यस्ता बिपत्तिहरुमा पीडितहरुलाई थोरै भए पनि मल्हम लगाउने काममा निरन्तर लागिपर्ने बताएका छन् । उनले राहात सामाग्री थोरै भए पनि त्यसले प्रभावितहरुलाई केही हदसम्म सान्त्वाना प्रदान गर्ने भन्दै राहात वितरण गरिएको बताएका छन् ।
राहात वितरण कार्यक्रममा राहात ग्रहण गर्दै भजनी नगरपालिका वडा नं. ८ का वडा सदस्य कृष्णलाल धमालाले समूहले गरेको सहयोग अपिहार्य रहेको भन्दै सहयोगका लागि धनभन्दा मन चाहिने कुराको पुष्टि गुडिमुन्टे जोडीको समूहले गरेको बताएका छन् । ‘हामीले कलाकारिता र पत्रकारिता क्षेत्रमा मात्र समूहका सदस्यहरु क्रियाशील छन् भन्ने सोचेको थियौं ।’ वडा सदस्य धमालाले भने, ‘समूह साँच्चिकै समाजप्रति एकदम उत्तरदायी रहेछ । यस्तै सोच समाजका अन्य व्यक्ति र संस्थाहरुमा पनि भए समाज परिवर्तनमा कुनै समय लाग्दैन ।’
सोही अवसरमा नैना ग्याँस टे«डर्सका सञ्चालक नन्दसिंह बि.क.ले पनि १० पेटी चाउचाउ बाढी पीडितहरुलाई सहयोग गरेका छन् । उनले सबैले आ–आफ्नो क्षेत्रबाट यस्तो बिपत्तीको समयमा सहयोग गर्नेपर्ने भन्दै आफूसँग जे छ, त्यही सहयोग गरी पीडितहरुलाई सान्त्वाना दिन आग्रह गरेका छन् ।
त्यस्तै नैना ग्याँस टे«डर्समा काम गर्दै आएका गणेश परियारले पनि पाँच पेटी चाउचाउ बाढी पीडितका लागि सहयोग गरेका छन् । उनले आफूले पाउने मासिक पारिश्रमिकबाट पीडितहरुलाई थोरै भए पनि राहात महसुस होस् भन्ने उद्देश्यका साथ सहयोग गरेको बताएका छन् ।
भजनी नगरपालिका वडा नं. ९ का वडा सचिव एवम् वडा नं. ८ का स्थानीय जयप्रसाद ढुङ्गानाले बाढी पीडितहरुका लागि सबैभन्दा ठूलो समस्या पिउने पानी नै रहेको बताउँदै बाढीका कारण नल्काको पानी पिउनयोग्य नरहेको अवस्थामा गरेको सहयोग अपिहार्य रहेको बताएका छन् । उनले भजनी नगरपालिकाका विभिन्न संघसंस्थाहरुले समेत राहात वितरणको काम
गर्दै आइरहेको समेत जानकारी दिएका छन् ।
शनिबार सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री प्रकाश शाह, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा भजनी नगरपालिकाको नगर उपप्रमुख छाया देवकोटा लगायतको टोलीले बाढी पीडित क्षेत्रको अनुगमन गर्नुका साथै बिस्थापित परिवारहरुको बारेमा समेत जानकारी लिएका छन् ।
पीडितहरुले आफूहरु बर्सेनि बाढीको चपेटामा पर्दै आएको भन्दै उचो ठाउँमा घरबासको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *