सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुशी

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी २९ असार/
कैलालीको भजनी नगरपालिका वडा नं. ५ पलियापुरका मोतीराम भण्डारीको परिवार यतिबेला हुलाकी सडक छेउमा आश्रय लिएको भेटिन्थ्यो । मनसुन ढिलोगरी सुरु भएकाले मोतीरामको परिवार घरमै बसिराखेको छ । अहिले पनि त्रीपालको भरमा मोतीरामको परिवार असुरक्षित बसाइँ बसिरहेको छ ।
एकदुई दिनमै मोतीराम नयाँ उच्च आवासमा बस्ने तयारीमा हुनुहुन्छ । अबदेखि मोतीरामलाई हुलाकीमा वर्षायामको पाँच / छ महिना बिताउनुपर्ने छैन । किनभने उहाँले उच्च घर पाउनुभएको छ । भजनी नगरपालिका, दिगो विकास समाज भजनी र आफ्नो श्रमदानमा उच्च आवास मोतीरामले निर्माण गर्नुभएको हो। त्यो पनि जमिनको सतह देखि ६ फिट अग्लो । “यसवर्ष सडकमा जानुपर्दैन । घरभित्र पानी पस्ने छैन । परिवार र खाद्यान्न सुरक्षीत हुन्छ ।” भण्डारी भन्नुहुन्छ, “स्थानीय सरकार छ भन्ने अनुभुती हामीलाई भएको छ । हाम्रो वर्षौंदेखिको समस्या समाधान भएको छ ।”
भजनी नगरपालिका, दिगो विकास समाज भजनी र जनश्रमदान गरी ९५ लाख ४६ हजार ९ सय ८४ रुपैयाँको लागतमा १६ वटा बाढी प्रभावित परिवारका घर निर्माण भएका छन् । जसमा नगरपालिकाले ४० लाख खर्च गरेको छ भने दिगो विकास समाजको ३२ लाख खर्च भएको छ । भजनी नगरपालिकाको पहलमा नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षीत आवास निर्माण गरिएको हो
सोही ठाउँका राज विक अहिले पनि घर निर्माणमै व्यस्त हुनुहुन्छ । घर निर्माण सम्पन्न गरेर यसवर्षको वर्षातको समय त्यहीँ नयाँ निर्माण भएको घरमा बिताउने उहाँको रहर छ । “हुलाकी सडकमा भोकभोकै बस्नुको पीडा हाम्रालागि खत बनेर बसेको छ । त्यो पीडा कहिल्यै भुल्ने छैनौं । राज भन्नुहुन्छ, “अब हाम्रा त्रीपाल सडकमा देखिने छैनन् । घरमा सुरक्षित बस्छौं भन्नेमा विश्वस्त छौं ।” उहाँले नगरपालिकाले आवास निर्माणमा गरेको सहयोग अविस्मरणीय हुने बताउनुभयो ।
आवास निर्माण भए पनि शौचालय र खानेपानीको समस्या हुने देखिएको छ । आवास निर्माण हुँदा त्यहाँ शौचालय निर्माण गरिएको छैन । खानेपानीमो हाते नल्का बाढीमा विलय हुन्छ । उच्च धाराको त्यहाँ आवश्यकता छ । त्यो समयमा शौच गर्न र खानेपानीको समस्या हुने सोही ठाउँकी सरिता टमट्टा बताउनुहुँन्छ । “बर्खाको समयमा हुने किरा फटयांग्राहरुको जोखिमबाट बच्ने भएका छौँ । सबैभन्दा ठूलो कुरा बालबालिकालाई सुरक्षित गर्न सकिने भएको छ ।” सरिता भन्नुहुन्छ, “घर निर्माण भएको क्षेत्रबाट बाहिर जान ढुंगा चाहिने हो । यहाँ नदी बग्छ । यस्तो अवस्थामा खानेपानीका लागि शौच गर्नका लागि कता जाने भन्ने चिन्ता छ ।” घर निर्माण भएको क्षेत्रमा भुइँको सतह निकै गहिरो भएको छ । जहाँ माटो पटानी गरेर समस्या समाधान गर्न सकिने भएपनि अहिले त्यो समस्या समाधान हुने अवस्था छैन ।
लालबहादुर कामीलाई घरमा भएको खाद्यान्न सुरक्षीत हुनेभएपछि उहाँ तनाब मुक्त हुनुभएको छ । बर्खा लागेसँगै घरमा भएको अन्न तथा अन्य खाद्यान्न आफन्तकोमा सार्नुपर्ने अवस्था यसवर्ष पलियापुर बासीलाई आउने छैन । “बाढी बर्सेनि आउने, डुवान र बगान बर्सेनि हुने भएपछि हामी केही सामान आफन्तकोमा राख्दै आएका थियौं । त्यहाँ पुर्याएको सामान पनि बाढीबाट सुरक्षित हुँदैनथ्यो ।” लालबहादुरले भन्नुभयो, “यसवर्ष आफ्नै घरमा खाद्यान्न सुरक्षित हुने भयो । हामी सुरक्षीत हुने भयौं ।”
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नगरपालिकामा पाँच वर्षमा ५० सुरक्षित आवास निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले बाढी र डुवानको बढी जोखिम हुने क्षेत्रका नागरिकहरूको सुरक्षीत आवासका लागि दातृ संस्थाहरुसँग समन्वय गरेर काम गर्ने बताउनुभएको छ । “चालू आर्थिक वर्षमा १६ घर निर्माण भएका छन् । त्यहाँ शौचालय, खानेपानी लगायतको काम बाँकी छ । त्यसलाई आउँदो आर्थिक वर्षमा पूरा गर्छौं ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “बाँकी जोखिम भएका क्षेत्रमा आवास निर्माणका लागि नगरपालिकाको सहयोग र समन्वय निरन्तर रहनेछ ।”
उहाँले कान्द्रा नदीलाई नियन्त्रण गर्न नसकेसम्म भजनीलाई डुवानबाट जोगाउन नसकिने बताउनुभएको हो । “हाम्रो पीडा कान्द्रा हो । कान्द्र नियन्त्रण गर्न सके आधा दुख सकिनेछ ।” नगर प्रमुख चौधरी भन्नुहुन्छ, “त्यसका लागि हाम्रो बजेटले पुग्दैन । प्रदेश र संघीय सरकारले अपेक्षित सहयोग गरेको छैन । टुक्रे बजेटले कान्द्रा नियन्त्रण गर्न सकिँदैन ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *