शेयेर गर्नुहोस
टीकापुर ०५ चैत /
अहिले सरकार वडा तहसम्म छ ।
नागरिकहरूका अधिकांश कामहरू वडा बाट हुन्छन् । नेपालको संविधानले गरेको राज्यपुनःसंरचना अनुसार वडा तह नागरिकहरूका लागि सबैभन्दा बलियो छ । किनभने वडाले सिफारिस नगरेसम्म नागरिकहरुले पाउने मुलभुत सेवाहरु लिन सक्दैनन् । सधैं व्यस्त रहने वडामा वडा अध्यक्षको भुमिका झन महत्त्वपूर्ण छ । आफ्नो क्षेत्रलाई, त्यहाँको जनता अनि उनीहरूको अवस्थाको बारेमा नजिकबाट वडा अध्यक्षले बुझेका हुन्छन् । ती वडा अध्यक्षलाई जनताले जनताकै काम गर्न भनेर निर्वाचित गराएर पठाएका जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लिप्त भएको देखिए पनि कतिपय वडा अध्यक्षले जनताको सेवा राम्रोसँग दिएका पनि छन् ।
त्यसको उदाहरण हुन मोहन लुहार (विक) । २०७९ जेठ ९ गते टीकापुर नगरपालिका वडा नं. १ को वडा अध्यक्षको रुपमा कार्यभार सम्हालेका मोहन वडामा आउने सेवाग्राहीका प्रिय बनेका छन् । शान्त स्वभाव, अधिकांश सेवाग्राहीको काम आफ्नै टेबुलबाट गर्ने प्रवृत्ति अनि प्रायः कार्यवाहक नदिएर आफै काममा हुँदा उनी सेवाग्राहीका प्रिय बन्न सफल भएका हुन । “व्यस्त वडा कार्यालय भएर पनि सहजरुपमा हामीले सेवा पाइरहेका छौँ ।” वडामा सेवा लिन आएकी पार्वती चौधरी भन्छन्, “अझै निवेदनमा तोक लगाउन जाँदा त्यतैबाट सिफारिसको पत्र समेत बनेर आउँदा निकै खुशी लाग्यो ।”
वडा नं. १ मा ४६ हजार ६ सय ९७ जनसंख्या छ । जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा हुँदा पनि जनशक्ति न्यून हुँदा समयमा सेवाग्राहीले सेवा पाउन नसकेको भन्दै पटकपटक आलोचनाको सिकार बन्दै आएको वडामा कैयौं कर्मचारीले गर्नुपर्ने काम वडा अध्यक्ष विकले आफै गर्ने गरेका छन् । “पहिले एकजना वडा सचीवका भरमा वडा कार्यालय हुँदा एउटा सिफारिस लिन पनि दुईतीन दिन लाग्थ्यो ।” स्थानीय सन्तोष रावल भन्छन्, “आज पनि जनशक्ति लगभग त्यहीँ पुरानो नै देखिन्छ तर वडा अध्यक्ष दक्ष भएका कारण सेवा लिनका लागि कुनै दिन कुर्नुपर्ने स्थिति अहिले छैन ।”
सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राही कार्यालयको ढिलासुस्तीका कारण हैरान हुने गरेको बताउँदै कल्पना विष्टले वडा अध्यक्ष विकले सेवा प्रवाहमा कसैप्रती आग्रहपुर्वाग्रह काम गर्ने गरेको बताएको छन् । उनले अन्य जनप्रतिनिधिले पनि वडा नं. १ का वडा अध्यक्षबाट धेरै कुरा सिक्न जरुरी रहेको बताइन् । “हामीलाई चाहिएकै सर्वसुलभ, छिटोछरितो सेवा हो । यो वा त्यो बाहनामा सेवाग्राहीलाई अल्झाउनु भन्दा त्यसको सहजीकरण गरेर समाधान गर्ने जनप्रतिनिधि हो ।” उनले भनिन्, “वडा नं. १ ले त्यो सबै गुण भएको वडा अध्यक्ष पाएको छ । यहाँ आउने म मात्रै होइन अधिकांश सेवाग्राही वडा अध्यक्षको व्यवहार र कार्यशैलीबाट पुर्ण सन्तुष्ट भएर फर्किन्छन ।”
जनताबाट जनमत पाएर पाँच वर्ष जनताको सेवक भएर काम गर्ने प्रतिज्ञा गरेर आएको बताउँदै वडा अध्यक्ष विकले आफुले जानेको र गर्नुपर्ने काम भन्दा बाहिर गएर काम नगरेको बताए । “म जुन काम गरिरहेको छु, त्यहीँ काम गर्नका लागि जनताले पठाएका थिए, त्यो भन्दा अरु काम मैले गरेको छैन ।” उनले भने, “सेवाग्राहीलाई सहज बनाउनका लागि र सर्वसुलभ सेवा प्रदान गर्ने कुरामा म सुरुका दिनदेखि गम्भीर भएर लागेको छु ।” वडा अध्यक्ष विकले सेवाग्राहीलाई जतिसक्दो छिटो सर्वसुलभ सेवा दिनका लागि वडा कार्यालय सधैं गम्भीर रहेको बताए ।
उनले पाँच वर्ष जनताको काम गर्ने प्रतिज्ञा गरेर आएको बताउँदै सकेसम्म वडाका हरेक सेवाग्राहीलाई सहज र सर्वसुलभ सेवा प्रदानका लागि सहजीकरणको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “मैले अनावश्यक रुपमा बिदा लिन्न । जतिसक्दो बढी समय वडा कार्यालयमा बस्नुपर्छ भन्नेमा लागेको हुन्छु ।” वडा अध्यक्ष विक भन्छन्, “तीन वर्ष बित्यो । यो समयमा मैले के कस्तो काम गरे त्यो मैले भन्दा जनताले मुल्यांकन गर्ने कुरा हो ।” उनले अझै सिमित स्रोतसाधनका बाबजुद झण्डै आधा लाख जनताको भावनालाई समेट्न निकै कठिन भएको उल्लेख गएका छन् । विकास निर्माण र अन्य सेवा प्रवाहमा पनि सबैलाई समेट्ने गरी काम गर्ने कोसिस गरेको बताएका छन् ।










