स्थापना दिवसको अवसरमा फलफुल वितरण

शेयेर गर्नुहोस


टीकापुर २० भदौ /
नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा उपशाखा टीकापुरले टीकापुर अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदा टीकापुर उपशाखाले बिरामीलाई फलफुल वितरण गरेको हो । फलफुल वितरण कार्यक्रममा कैलाली जिल्ला शाखा उपसभापति जगदिश्वर पण्डितले रेडक्रस समस्याको सारथि भएर काम गरिरहेको बताउँदै स्वस्फूर्त रुपमा मानवीय सेवामा रेडक्रसको भुमिका सधै माथी रहेको बताएका छन् । उनले रक्त सञ्चार केन्द्रको स्थापना गरेर बिरामीहरुलाई रगत प्रवाह गर्ने काममा होस् वा अन्य विपदको समयमा रेडक्रसले मानवीय कार्यमा तल्लीन भएर काम गर्दै आएको बताएका छन् ।
उपशाखा सभापति दत्तबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावल र नगर उपप्रमुख केशरी विष्टलाई सम्मान पनि गरिएको थियो । नगरपालिकाले नगर क्षेत्र भित्रका नागरिकहरुलाई रेडक्रस मार्फत नि:शुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको भन्दै सम्मान गरिएको हो । सम्मान कार्यक्रममा निवर्तमान नगर प्रमुख रावलले नगरपालिकाले कार्यविधि बनाएर नगरभित्रका नागरिकहरूलाई नि:शुल्क रगतको व्यवस्था गरिएको बताएका छन् ।
“हामीले सुरुवाती चरणमा नगर भित्रका नागरिकहरूलाई लक्षित गरेर कार्यविधी बनाएर उक्त कार्यक्रम सञ्चालन गरेका थियौं । अब त्यसको क्षेत्र फराकिलो बनाएर अस्पतालमा उपचारका लागि आएका नागरिकहरूलाई नि:शुल्क रगत उपलब्ध गराउन सक्नुपर्छ ।” उनले भने, “स्वास्थ्यको क्षेत्रमा आफ्नो कार्यकालमा धेरै कामहरू भएका थिए । जुन कार्यक्रमहरु प्रचारबाजी मात्रै भएनन् । नगरपालिकाले निवर्तमान नगर प्रमुख रावलकै कार्यकालमा सुत्केरी महिला लक्षित गरेर “होम टु हस्पिटल” कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिका भित्रका सुत्केरी महिलाले नि: शुल्क एम्बुलेन्स सेवा पाउने व्यवस्था आज पनि चालू छ । त्यसैगरी नगरपालिकाले बालरोग बिषेशज्ञ र स्त्रीरोग विशेषज्ञ दुईजना चिकित्सक टीकापुर अस्पतालमा व्यवस्थापन गरेको थियो । जुन आज पनि छ ।”
नेपाल रेडक्रस उपशाखा टीकापुरले रक्त तत्व छुट्याउने कम्पोनेन्ट मेसिनको आवश्यकता महसुस गरेको छ । जुन मेसिनले बिरामीलाई आवश्यक रगत प्रवाह गर्न सकिने जिल्ला शाखा उपसभापति पण्डित बताउँछन् । त्यसका लागि सुदुरपश्चिम प्रदेश देखि संघीय सरकारसँग समन्वय भैरहेको उनको भनाइ छ । टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले अस्पतालमा सेवा विस्तार भएसँगै रगतको माग निकै बढेको बताउँदै रगत कम्पोनेन्ट मेसिन हुँदा निकै फाइदा हुने विश्वास व्यक्त गरेका छन् ।
“अहिले अस्पतालमा विशेषज्ञ चिकित्सक धेरै छौँ । सेवा पनि थप भएका छन् भने बिरामीको चाप निकै बढी छ ।” उनले भने, “बिरामीको संख्या बढ्दा रगतको माग पनि बढेको छ । त्यसका लागि रेडक्रस सहित सरोकारवाला व्यक्तिहरुले रगतको उपलब्धताका लागि सोच्नुपर्ने स्थिति छ ।” केही वर्ष पहिले टीकापुर अस्पतालले एक सय २५ पिन्टसम्म रगत खपत गरेकोमा हाल रगतको माग ह्वात्तै बढेको देखिन्छ । उपशाखाको तथ्यांकअनुसार गत वर्ष दुई हजार चार सय ९६ पिन्ट रगत खपत भएको पाइन्छ ।
उता भजनी उपशाखाले पनि ६२ औं स्थापना दिवसको अवसरमा बिपन्न ७ परिवारलाई भाडाकुडा, लत्ताकपडा वितरण वितरण गर्नुका साथै भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । उपशाखाले फलफुलका विरुवाको वृक्षारोपण समेत गरिएको उपशाखाका सभापति रामनारायण चौधरीले बताएका छन् । कार्यक्रममा भजनी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुर्यप्रकाश चौधरी, जनता सामुदायिक पुस्तकालय भजनीका अध्यक्ष हेमेन्द्र भारद्वाज लगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *