शेयेर गर्नुहोस
टीकापुर २९ असार /
जनकल्याण बचत तथा ऋण सहकारी संस्था टीकापुरले आफ्नो १४ औं स्थापना दिवस कविता वाचन प्रतियोगिता आयोजना गर्दै मनाएको छ ।
सहकारीको १४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरेको कविता प्रतियोगितामा पूर्ण प्रसाद उपाध्याय प्रथम, ज्ञानु पोख्रेल द्धितिय, जगत कुमारी जैशीले तृतिय तथा टीकाराम चौधरी र खडकप्रसाद पाण्डेले सान्त्वना स्थान हासील गरेका छन् । प्रतियोगितामा प्रथम हुनेले तीन हजार, द्धितिय हुनेले दुई हजार, तृतिय हुनेले एक हजार र सान्त्वना स्थान हासील गर्ने प्रतियोगिले पाँच सय रुपैयाँ नगदसहित मायाको चिनो प्राप्त गरेका छन् ।प्रतियोगितामा ९ जनाले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकमा मिनबहादुर थापा, कासीराम ढुंगाना र कैलास नर्गाजी रहेका थिए।
कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले सहकारीले बचत संकलन र ऋण लगानीका साथै यस्ता रचनात्मक क्रियाकलाप गर्नु राम्रो काम भएको बताएका छन् । नगर प्रमुख थारुले नगरपालिका भित्र रहेका सहकारीलाई नगरपालिकाले नियमन गरी व्यवस्थित गर्दै लगिरहेको पनि बताए । सहकारीका संस्थापक अध्यक्ष गणेशबहादुर साउँदले सबैको सहयोग र सहकार्यले सहकारी यहाँसम्म आइपुगेको बताउँदै अझै राम्रो बनाउनु पर्नेमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
पत्रकार भूवनेश्वर अधिकारीले सहकारीले मानिसका सानातिना अफ्ठ्याराहरुलाई फुकाउने काम गरिरहेको बताउँदै केहि सहकारीहरुमा विकृति आइरहेकोले त्यसबाट जोगिन सुझाव दिएका छन् । सहकारीका सल्लाहकार संयोजक बद्रिप्रसाद भट्टराईले जनकल्याण सहकारीलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएपनि स्थानीय सरकारले नचिनेको भन्दै दुःख व्यक्त गरे ।
सहकारीका अध्यक्ष नृपराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सहकारीका व्यवस्थापक छविलाल जैशीले सञ्चालन गरेका भने स्वागत उपाध्यक्ष मनोज कुमार साउँदले गरेका थिए ।










