शेयेर गर्नुहोस
टीकापुर ०६ असार/
टीकापुर अस्पतालमा रगतको अभाव कायम रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी टीकापुरले रक्तदान मंगलबार कार्यक्रम आयोजना गरेको छ ।
पार्टीको पहिलो स्थापना दिवसको पुर्व सन्ध्यामा पार्टीले नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । पार्टीका नगर सभापति रवीन्द्र विष्टले सामाजिक क्षेत्रमा काम गर्दै जाने क्रममा आगामी दिनमा पनि राम्रा कामहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका छन् । “हामी समाजलाई समृद्ध बनाउनका लागि बोलेर होइन गरेर प्रमाणित गर्न चाहान्छौँ । यसरी यस्ता सामाजिक क्षेत्रसँग सम्बन्ध राख्ने कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जानेछौँ ।” विष्टले भने, “आवश्यकताको आधारमा काम गर्नुपर्छ बन्ने हाम्रो मान्यता हो । आज अस्पतालमा रगतको अभाव भएको थाहा भयो रक्तदान गर्यौं । भोलि अर्को ठाउँमा अर्को आवश्यकता पर्यो भने त्यहीँअनुसार प्रस्तुत हुन्छौं ।”
अस्पतालमा पछिल्लो समय मागअनुसारको रगतको आपूर्ति नहुँदा समस्या हुनथालेको ब्लड बैंक संयोजक सञ्जय भण्डारीले बताएका छन् । “माग भएअनुसार रहतको आपूर्ति हुन सकेको छैन । यस्तै संघसंस्थाहरुको समन्वयमा टीकापुर रक्तसञ्चार केन्द्र चलिरहेको छ ।” संयोजक भण्डारीले भने, “अझै समुदाय स्तरमा रक्तदान गर्नुपर्छ भन्ने जनचेतना फैलाउन जरुरी छ । नभए अहिलेको प्राप्त भैरहेको रगतको मात्राले आवश्यकता पूरा गर्न निकै कठिन देखिन्छ ।”
रक्तसञ्चार केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा असार ५ गतेसम्म करिब दुई हजार तीन जतिले रक्तदान गरेको देखिन्छ । टीकापुर अस्पतालमा अहिले पनि दैनिक १० पिन्टसम्म रगत आवश्यक पर्ने गरेको छ । त्यो आवश्यक रगतको व्यवस्थापन रक्तसञ्चार केन्द्रल गर्दै आएको छ भने टीकापुर नगरपालिकाले आफ्ना नागरिकहरुलाई नि:शुल्क रगत उपलब्ध गराउँदै आएको छ । अस्पतालले डायलाशेस सेवा सुरु गर्ने तयारी थालेसँगै अझै रगतको माग बढ्ने संयोजक भण्डारी बताउँछन् ।
रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको नगर सभापति विष्टले बताएका छन् ।