हत्या आरोपीले गरे आत्मसमर्पण

शेयेर गर्नुहोस


टीकापुर २२ मंसिर /
जोशीपुरमा सालाको हत्या गरेर फरार रहेका गौरीलाल ढुंगानाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले राति १ बजेतिर ईलाका प्रहरी कार्यालय बौनीयाँमा आत्मसमर्पण गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद जोशीले उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।

जोशीपुर गाउँपालिका–६ कुमारीबागका कान्ते भनेर चिनिने ५० वर्षका ढुंगानाले घरेलु हतियार प्रयोग गरेर साला नाता पर्ने ३३ वर्षका पदम भण्डारीको हत्या गरेको र अर्का साला नाता पर्ने ४० वर्षका जयराम भण्डारी घाईते भएका थिए ।

उनीहरु सबैजना एउटै टोलका बासिन्दा समेत हुन । तीनै जनाले सँगै मदिरा सेवन गरेको स्रोतले बताएको छ । मदिरा सेवनकै क्रममा उनीहरुबीच घरायसी झगडालाई लिएर विवाद भएको बताईएको छ । भिनाजु ढुंगानाले दिदीलाई प्रायजसो कुटपिट गर्ने गरेपछि सालाहरुले त्यसो नगर्न भनेर सम्झाएका थिए । यही विषयमा उनीहरुबीच विवाद चर्केको थियो ।

प्रत्यक्षदर्शीका अनुसार ढुंगानाले भण्डारीद्वयलाई मारिदिने धम्की दिएका थिए । उनीहरुले सक्छौ भने मारेर देखाउ भनेपछि ढुंगाना घरबाट हसिया लिएर आएका थिए । ढुंगानाले एकाएक दुवैजना माथि हसिया प्रहार गरेको स्थानीयले बताए ।

उनीहरुकाबीच यसअघि समेत झैझगडा हुने गरेको स्थानीयले बताएका छन । केही समयअघि ढुंगानाले सालालाई सावर्जनिक मुद्दा लगाएका थिए । तत्कालिन अवस्थामा समेत उनीहरुबीच झैझगडा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *