हरियालीको विशेष साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ३० असोज /
हरियाली बचत तथा ऋण सहकारी संस्थाको विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष महेन्द्र सिंह बमको अध्यक्षतामा भएको विशेष साधारणसभाका प्रमुख अतिथि तथा संस्थाका लेखा समिती संयोजक ललितजंग शाहीले डुवन लागेको सहकारीलाई पुनर्जीवन दिएर संस्थालाई नाफाको बाटोमा डोर्‍याउन सफल भइएको बताएका छन् । उनले विशेष कारणले सहकारीले विशेष साधारणसभा बोलाउनु परेको बताउँदै एक महिना भित्र सहकारीले वार्षिक साधारणसभा बोलाउने बताएका छन् ।
सहकारी संस्थाका सेयर सदस्य टेकराज रेग्मीले संस्थाको हालसम्म ८१ लाख सेयर पुँजी पुगेको बताउँदै छ महिनामा दुई करोड पुर्याउने लक्ष्य रहेको बताएका छन् । उनले नगरपालिकाको दुई वडामा सिमित सहकारीलाई नगरपालिकाका नौवटा वडामा कार्यक्षेत्र बनाउन सफल भएको बताउँदै स्वरोजगार र कृषि क्षेत्रमा सहकारीले योजनाबद्ध रुपमा काम गर्दै जाने बताएका छन् । “सहकारीलाई ऋण र बचतमा मात्रै सिमित नराखेर अन्य क्षेत्रमा पनि काम गर्ने योजना बनाएका छौं ।” रेग्मीले भने, “त्यसकारण संस्था अब्बल बन्न सकेपछि मात्रै हामिले समुदायलाई अब्बल बनाउन सक्छौं ।”
सहकारी संस्थाले लेखा परिक्षक नियुक्तिका लागि विशेष साधारणसभा बोलाएको थियो । विशेष साधारणसभाले रुपेन्द्र बहादुर अधिकारीलाई लेखापरिक्षकको रुपमा नियुक्त गर्ने निर्णय समेत पारित गरेको छ । संस्थाका उपाध्यक्ष रवीन्द्र हमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव टेकेन्द्र धामीले गरेका थिए । सहकारी संस्थामा हाल तीन सय ७१ जना सेयर सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *