शेयेर गर्नुहोस
टीकापुर २७ कार्तिक /
हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष महेन्द्र सिंह बमको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले सहकारी संस्थाको सामाजिक क्षेत्रमा लगानी हुन आवश्यक रहेको बताएका छन् । उनले सहकारी संस्थाले उत्पादन र उद्यमशिल्ताको क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि आवश्यक क्षेत्रमा नगरपालिका समन्वय गर्न तयार रहेको बताएका छन् । “हाम्रो क्षेत्रमा भएका समस्याको समाधान गर्ने दाइत्व हामी सबैको हो । त्यहीँ दाइत्वमा रहेर सहकारी संस्थाले पनि समाजप्रति उत्तरदायी भुमिका देखाउन जरुरी छ ।” नगर उपप्रमुख शाहले भने, “त्यसमा नगरपालिका समन्वय गर्न तयार छ । हाम्रा सहकारी उत्पादन र रोजगार सिर्जनामा केन्द्रित हुन सके धेरै समस्याको समाधान हुन सक्छ ।”
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले स्थानीय सरकारले सीप तथा क्षमता विकासको क्षेत्रमा जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सहकारीले रोजगारी सिर्जना तथा सहुलियतमा कर्जा प्रवाहको क्षेत्रमा भुमिका खेल्न आवश्यक रहेको बताएका छन् । “हामिले सक्षम जनशक्ति उत्पादन हामिले गरिरहेका छौँ । त्यसलाई व्यावसायिक बनाउन सहकारीको भुमिका आवश्यक देखिन्छ ।” वडा अध्यक्ष विकले भने, “हामी सबैको उद्देश्य भनेकै समाजलाई समुन्नत बनाउने हो । त्यसमा सरकारी तथा गैरसरकारी सबै संस्थाको भुमिका देखिन जरुरी छ ।”
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटा, ईलाका प्रशासन कार्यालय टीकापुरका शाखा अधिकृत सर्वानन्द चपाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । ३० जना सेयर सदस्यको ६० हजार पुँजीबाट सुरु भएको सहकारी संस्थाले ६८ लाख ४९ हजार ४०० सेयर पुँजी पुगेको छ भने संस्थाले सेयर पुँजी दुई करोड पुर्याउने लक्ष्य रहेको बताइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा दुई लाख २० हजार ८ सय ८२ रुपैयाँ नोक्सानमा रहेको सहकारीले चालू आर्थिक वर्षमा ५५ हजार ९ सय १२ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ
संस्थाका उपाध्यक्ष रवीन्द्र हमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव टेकेन्द्र धामीले गरेका थिए ।