शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०४ फागुन /
निर्माण सुरु भएको ११ वर्षपछि हुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनी नगरपालिका वडा नं. ३ मा पर्ने कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशा जगाएको छ । निर्माण कम्पनीले चरम लापरबाहीका कारण ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिलो हुँदा स्थानीले भोगेको सास्ती अब हट्ने विश्वासमा स्थानीय छन् ।
पुलको बिचको स्पामको ढलान भएपछि पुल बन्ने आशा पलाएको भजनी नगरपालिकाका स्थानीय रुद्र चौधरी बताउनुहुँन्छ । “पुलको काम प्रत्येक वर्ष सुरु हुँदा यसवर्ष काम सकिन्छ भन्ने आशा जाग्थ्यो । बर्खा लागेपछि हालत उस्तै हुन्थ्यो ।” उहाँ भन्नुहुन्छ, “अब लगभग पुलको काम सम्पन्न हुने देखिएको छ । कम्तीमा हिड्न सक्ने अवस्थाको पुल बमेको छ ।”
भजनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेपछि ११ वर्षदेखि भजनी बासीको पुलबाट आवागमन गर्ने सपना पूरा हुन लागेको बताउनुभयो । “दुई स्पामको काम गतवर्ष नै सम्पन्न भएको थियो । बाँकी रहेको एक स्पामको ढलान भएको छ । एक दशकपछि बल्ल पुल बन्ने आशा पलायो ।” वडाअध्यक्ष चौधरीले भन्नुभयो, “अब पुल बन्छ । पुल बनेपछि ११ वर्षदेखि स्थानीयले देखेको पुल चड्ने सपना पूरा हुने भएको छ ।”
विशेषगरी बर्खाको समयमा भजनीका स्थानीयलाई कान्द्रा नदीकै कारण ओहोरदोहोर गर्न निकै समस्या हुनेगरेको थियो । डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका भजनीका स्थानीयले डुङ्गामा सवार गरेबापत पनि पैसा तिर्नुपर्ने अवस्था थियो । हिउँदमा पनि नगरपालिकाले डुङ्गा सञ्चालनका लागि ठेक्का दिने भएपछि नदी तरेको पैसा तिर्दै आएका स्थानीयलाई पुल निर्माण भएपछि सबै कुराको सहज हुने स्थानीय दिपक बोहरा बताउनुहुँछ ।
“बर्खाको समयमा भजनीका अधिकांश वस्ती बाढी र डुवानमा हुन्छन् । त्यो समयमा गाउँमा कोहि बिरामी पर्दा पनि अस्पतालसम्म पुर्याउन निकै कठिन अवस्था छ । त्यसको कारण कान्द्रा नदी हो ।” उहाँ भन्नुहुन्छ, “पुल बनेपछि यस्ता कयौं समस्याको समाधान हुनेमा हामी छौं । हाम्रा लागि पुल महत्त्वपूर्ण स्रोत बन्ने छ ।” एक सय मिटर लामो सो पुलको २०६८ जेठ ३१ मा ठेक्का सम्झौता भएको थियो । सुरुको समय डिजाइन परिवर्तनका कारण निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीले बतएको छ ।
बिरुवा/लामा/शेर्पा साल्पा जेभीले निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि कैयौँपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको थिएन । तीन करोड ४५ लाख २० हजार रुपियाँ लागतमा पुल निर्माणको जिम्मा ठेकेदार कम्पनीले पाएको थियो । पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आगामी चैत मसान्तसम्म पुलको म्याद थप गरिएको छ । थप गरिएको समयभित्र निर्माणको कार्य पूरा हुने बताइएको छ । “पुलको महत्त्वपूर्ण काम सम्पन्न भैसकेको छ । थपिएको समयमा काम पूरा हुन्छ । यस वर्षको वर्षायाममा भजनीका जनताले पुलमा ओहोरदोहोर गर्न पाउनेछन् ।” सुनारले भन्नुभयो, “निर्माण कम्पनीको चरम लापरबाहीका कारण नै पुल निर्माणको काम सम्पन्न हुन समय लागेको हो । अब भने काम सम्पन्न भएरै रोकिन्छ ।”