शेयेर गर्नुहोस
टीकापुर २० कार्तिक /
स्मार्ट सीटी अन्तर्गत निर्माण भएको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. “ए” को सामुदायिक एफएम चोकदेखी पुरानो वडा कार्यालय सम्मको सडक पुनः कालोपत्रे भएको छ ।
यसभन्दा पहिले कालोपत्रे भएको सडक कालोपत्रे भएको एक हप्तामै भत्किएपछि स्थानीयको चर्को विरोधका बीच संघीय शहरी तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीले सडक पुनः निर्माणका लागि निर्माण निर्देशन गरेपछि निर्माण कम्पनीले सडक पुनः कालोपत्रे गरेको हो । पहिलो चरणमा सडक कालोपत्रे गर्दा सडक भत्किएको थियो । सडक निर्माणकै क्रममा भत्किएपछि स्थानीयको विरोध र समाधान न्युज दैनिकमा २०७९ चैत्र १९ गते समाचार प्रकाशित भएको थियो । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयको करिब ८ करोड लागतमा ब्लक “ए” को ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण कार्य अन्तिम चरणमा भइरहेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि जयराम थापाले आयोजनाले सडक पुनः कालोपत्रे गर्न भनेपछि खानेपानी ट्यांकी चोकदेखि सामुदायिक एफ एम चोकसम्मको सडकको ‘टप लेयर’ गरिरहेको बताएका छन् । “पहिले कालोपत्रे हुँदा स्क्राच भएको भन्दै आयोजनाले पुनः निर्माण गर्न भनेपछि टप लेयर गरिरहेका छौं । सडकमा खासै समस्या त थिएन ।ठाउँठाउँबाट विरोध भएपछि सडक निर्माण गर्नुपरेको हो ।” थापाले भने, “अब स्थानीयको मागअनुसार, आयोजनाले भनेअनुसार हामीले काम गरिरहेका छौं ।”
त्यसबेला सडकको गुणस्तरबारे प्रश्न उठेपछि तत्कालीन समयमा टीकापुर नगरपालिका उपप्रमुख खड्कबहादुर शाह, आयोजना प्रमुख, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी राना लगायतले अनुगमन गरेका थिए । सडकमा समस्या आएपछि कालोपत्रे सडकको बिटुविनको परिक्षणका लागि नेपालगन्ज ल्याबमा समेत पठाइएको थियो । परिक्षणका क्रममा भने सडकमा समस्या नभएको पुष्टि भएको ओभरसियर थापा बताउँछन् । “ल्याब परिक्षणमा सडकमा समस्या देखिएको थिएन । तर, स्थानीयले चर्को विरोध गरेका कारण सडक पुनः निर्माण गर्नुपर्यो ।” उनले भने, “हामीले त्यो बेला पनि स्थानीयलाई आग्रह गरेका थियौं । सडकमा समस्या छैन । यो प्रकारको कालोपत्रेमा सामान्य समस्या आउँछ भनेर ।”