शेयेर गर्नुहोस
भजनी ११ भदौ /
भजनी नगरपालिका वडा नं. ३ मा शहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको वर्षौं भयो ।
हुलाकी राजमार्ग अन्तर्गत ठेकीपुर नजिक निर्माण भएको भवन निर्माण अवधिदेखि विवादित बन्दै गएपछि पनि भवन सञ्चालनमा आउन नसकेको हो । कान्द्रा नदीको किनारमा अरुको भवनबाट सेवा प्रवाह गर्दै आएको शहरी स्वस्थ्य केन्द्रको भवन अहिले पुनः विवादमा आएको छ । भवन निर्माण गर्दा डुवान क्षेत्रमा मध्यनजर नगर्दा हुलाकी सडकको सतहभन्दा निकै गहिरोमा निर्माण भएको भवनलाई डुवानबाट जोगाउनका लागि गत आर्थिक वर्षमा माटो पटानी र घेरा पर्खाल निर्माणको काम भजनी नगरपालिका मार्फत सम्पन्न भएको थियो । पटानी भएको माटो वर्षातको पानीले बगाएको छ भने, पर्खाल भत्किएको छ । निर्माण सम्पन्न भएको दुई महिना नपुग्दै पर्खाल भत्किएपछि स्थानीय आक्रोशित छन् ।
यसअघि भवनको विषयमा पनि नगरपालिकाको आलोचना हुँदै आएको थियो । आलोचनाकै क्रममा नगरपालिकाले भवन सञ्चालनमा ल्याउने गरी माटो पटानी र घेरापर्खाल निर्माण गएको थियो । १५ लाख बजेटबाट निर्माण भएको पर्खाल एक बर्खा नकाट्दै भत्किएपछि स्थानीयले गुणस्तरमा शंका गरेका छन् । नगरपालिका भने पटानी भएको माटोले पानी सोसेपछी त्यसको भार थेग्न नसकेर पर्खाल भत्किएको हुनसक्ने बताउँछ । ” हाम्रो प्रारम्भिक अनुगमनले माटोमो भार थेग्न नसक्दा पर्खाल भत्किएको हो । त्यसलाई के गर्ने भन्ने निर्णय नगरपालिकाले गर्ला ।” इन्जिनियर अनिश श्रेष्ठले भने, “नगरपालिकाको अनुगमन समितिले अनुगमन गरेपछि त्यसको ठोस निक्र्योल आउने छ ।”
उनका अनुसार उपभोक्ता समितिले उक्त कामको भुक्तानी पनि पाएका छैनन् । “नगरपालिकाले त्यसको भुक्तानी पनि दिएको छैन । भुक्तानी रोकिएको छ ।” उनले भने, “भुक्तानी नहुँदै काममा प्रश्न उठेको छ । त्यसको निर्णय कार्यालयले गर्नेछ ।” नगरपालिकाले चालू आर्थिक वर्षमा पनि त्यहीँ शहरी स्वास्थ्य केन्द्रको लागि बजेट विनियोजन गरेको छ । त्यसको उचाई उठाउनका लागि नगरपालिले बजेट विनियोजन गरेको भएपनि कति बजेट भन्ने थाहा नभएको इन्जिनियर श्रेष्ठले बताए । उनकाअनुसार एक फिट उचाई उठाएर भवन सञ्चालनमा ल्याउने भएको छ ।
इस्टिमेटमा समस्या देखाउँदै जनस्तरबाट विरोध हुनथालेपछी नगरपालिका भने भवनको स्टिमेट नै त्यस्तै भएको दाबी गर्छ । नगरपालिकाका इन्जिनियर अनिश श्रेष्ठले स्वस्थ्य केन्द्रको भवन निर्माण भएको क्षेत्रमा नभई वडा नं. ३ को कार्यालय नजिकै कान्द्रा नदी किनारमा निर्माण हुनेगरी डिजाइन भएको र पछि त्यहीँ डिजाइनलाई सार्नुपर्ने भएपछि केही समस्या भएको बताए । उनकाअनुसार डिजाइन स्टिमेट भन्दा भवनको उचाई निकै बढाइएको छ । भवनको उचाइ दुई फिट भन्दा बढी उठाएर निर्माण गरिएको इन्जिनियर श्रेष्ठले दाबी गरे । उनले एक ठाउँमा भएको स्टिमेटलाई अर्को स्थानमा स्थानान्तरण गर्दा केही भाग गहोरोमा परेको बताएका छन् ।
४३ लाख ९१ हजार सात सय ६० रुपैयाँ बजेटमा ४१ लाख २१ लाख ८ सय ८५ रुपैयाँ निर्माण कम्पनीलाई नगरपालिकाले भुक्तानी गरेको छ । लागतमा निर्माण भएको उक्त भवनको काम २०७८ पुस २८ गते सम्पन्न भैसकेको थियो । रिया कन्स्ट्रक्सनले निर्माण गरेको शहरी स्वस्थ्य केन्द्रको भवन निर्माणका लागि संघीय सरकारको स्वस्थ्य मन्त्रालयले बजेट व्यवस्था गरेको थियो ।।