१७ गते नगर सभाको बैठक आव्हान

शेयेर गर्नुहोस


टीकापुर १२ असार /
टीकापुर नगरपालिकाले यहीँ असार १७ गतेका लागि नगर सभाको बैठक आव्हान गरेको छ ।
कार्यवाहक नगर प्रमुखको विवादले अनिश्चित बनेको नगरपालिकाको बजेट अधिवेशन नगर सभाको दुई तिहाई सदस्यले माग गरेसँगै असार १७ गते बिहान ७:३० बजेका लागि आव्हान गरिएको हो । नगरपालिकामा हाल ४७ जना नगर सभा सदस्य रहेका छन् । त्यसमध्ये ३५ जना नगर सभा सदस्यले नगर सभाका जेष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा बस्ने गरी निर्णय गर्दै प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई पत्राचार गरेपछि प्रमुख प्रशासकीय अधिकृत धितालले १७ गते बिहान ७:३० बजेका लागि बैठक आव्हान गरिएको बताएका छन् । बाँकी केही नगर सभाका सदस्य पालिका बाहिर हुँदा नगर सभाको बैठकका लागि तयार देखिएको स्रोतको दाबी छ । त्यसरी हेर्दा नगर सभाको बैठक चाहनेको संख्या ४० जनाभन्दा बढी रहेको छ ।
“उहाँहरुले केही कार्यपालिका सदस्यको विवादले नगर सभालाई अनिश्चित गरिनु राम्रो पक्ष होइन । विवादित सदस्यलाई बाहिर राखेर भए पनि बजेट अधिवेशन सुरु गर्नुपर्छ भनेर सामुहिक हस्ताक्षर सहित आएपछि मैले बैठक आव्हान गरिदिएको छु ।” उनले भने, “अझै समय छ । आवश्यक छलफल र समन्वय गरेर सहमतिका आधारमा सबै जना एक ठाउँमा आएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट आउने विश्वास हामीले लिएका छौँ ।” उनले आफुहरु जनप्रतिनिधिले दिएको निर्देशन अनुसार काम गर्ने बताउँदै बहुमत सदस्यले बैठक माग गरेपछि त्यसैअनुसार बैठकको लागि पत्राचार गरिएको बताए ।
कार्यवाहक नगर प्रमुख बनेका रामबहादुर नगार्जी र अर्का बलीराम चौधरीको आधिकारिकताको मुद्दा सर्वोच्चमा विचाराधीन रहेका बेला दुबै जनाको नगर सभाको बैठकको अध्यक्षतामा नभई जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने गरी बहुमत कार्यपालिका सदस्य र नगर सभा सदस्य बीचमा सहमति भएपछि अनिश्चित बनेको नगरपालिकाको बजेट असार भित्र आउने आशा बढेको छ । यसमा कार्यवाहक नगर प्रमुख रहेका नगार्जी सहित केही कार्यपालिका सदस्यहरुले भने आपत्ति जनाएका छन् । उनीहरूले यथास्थितिमा जेठ १४ गतेको कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्न आपतकालीन अन्तरिम आदेश दिएका बेला त्यसभन्दा पहिले कार्यवाहक बनेका नगार्जीको अध्यक्षतामा नगर सभाको बैठक बस्नुपर्ने अडान राखेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *