२४ दिनमा खुल्यो नगरपालिकाको ताला

शेयेर गर्नुहोस


टीकापुर १८ चैत /
टीकापुर नगरपालिकाको नगर प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा लागेको ताला २४ दिनमा खोलिएको छ ।
गएको फागुन २३ गते सातजना कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गर्दै नगर प्रमुख रामलाल डगौरा थारुले मनलाग्दी गरेको भन्दै कार्यपालिकाले निर्णय गरेका निर्णयमा नोट अफ डिसेन्ट लेख्न पाउनुपर्ने भन्दै तीन कक्षमा तालाबन्दी गरेका थिए । नगर प्रमुख थारुसँग कार्यपालिका बैठकको रजिस्टरमा नोट अफ डिसेन्ट लेख्न दिने सहमति भएपछि लगाइएको ताला खोलिएको हो ।
“हामीले नगर प्रमुखसँग कार्यपालिकाको बैठकले गरेको निर्णयमा आफ्नो असहमति दर्ज गर्न पाउनुपर्छ भन्ने माग थियो । लामो समयपछि त्यसमा नगर प्रमुखले हुन्छ भनेपछि ताला खुल्यो ।” कार्यपालिका सदस्य दिपक बहादुर निशानीले भने, “त्यो बेला नै आफ्नो असहमति दर्ज गर्न पाएको भए यो तालाबन्दी गर्नुपर्ने स्थिति हुने थिएन ।” कार्यपालिकाको ४७ औं बैठकको १२ नम्बर बुदामा सातजना कार्यपालिका सदस्यले असहमति जनाउँदै तालाबन्दी गरेका थिए । त्यस १२ नम्बर बुदामा सात जनाले विरोध गर्दै आए पनि आइतबार छ जनाले असहमती दर्ज गरेको कार्यपालिका सदस्य निशानीले बताए । उनका अनुसार कार्यपालिका सदस्य सरस्वती तिरुवा अस्वस्थ भएर उपस्थित नभएको पाइएको छ ।
जुन बुदामा अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक र सदस्यलाई हटाएर नयाँ राख्ने निर्णय भएको बुझिएको छ । जसका कारण समितिको संयोजकको जिम्मेवारीमा रहेका निशानी र राजरानी चौधरीलाई हटाएर कैलाशपती चौधरी र लौटन चौधरीलाई राखिएको छ । निशानीले नगरपालिकामा एउटा पद्धतिको विकास भएको बताएका छन् । “हिजोका दिनमा असहमति हुँदा पनि बोल्न पाइने स्थिति थिएन । पेलेरै भए पनि मनलाग्दी गर्न पाइन्छ भन्ने थियो ।” उनले भने, “अब एउटा पद्धतिको विकास भएको छ । अबका दिनमा असहमति भएका विषयमा खुलेर आफ्नो कारण लेखेर दर्ज गराउने वातावरण बनेको छ ।”
दुईवटा समितिको जिम्मेवार एउटैलाई
नगरपालिकाको ४७ औं कार्यपालिका बैठकले सिफारिस गरेका अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधिकारी अर्को समितिमा पनि रहेको पाइएको छ । यसअघि नयाँ समितिमा जिम्मेवारी पाएका कैलाशपती र लौटन चौधरी पुर्वाधार समितिको जिम्मेवारीमा रहेको बताइएको छ । “उहाँहरु यसभन्दा पहिले पुर्वाधार कार्यान्वयन गर्ने समितिमा पनि हुनुहुन्छ । आज योजना कार्यान्वयन पनि उनैले गर्ने अनि अनुगमन पनि त्यसै समितिले गर्दै आएको छ ।” निशानीले भने, “यो खास गर्न नमिल्ने कुरा हो । उसैले कार्यान्वयन गरेको योजनाको उसैले अनुगमन गर्दा त्यो योजना कति विश्वसनीय हुन्छ होला ? त्यसमा ख्याल गर्न जरुरी छ ।”
झण्डै एक महिना लामो तालाबन्दीका कारण सेवा प्रवाहमा भने नराम्रो असर परेको छ । नागरिकहरूमा पनि नकारात्मक सन्देश प्रवाह भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *