शेयेर गर्नुहोस
टीकापुर ११, मंसिर /
टीकापुर नगरपालिका गत असोज २६ गते नगर प्रमुख रामलाल डंगौरा थारुले एक सूचना जारी गरे ।
नगरपालिका भित्रका अतिक्रमण परेका सार्वजनिक जग्गा खाली गराउनका लागि भन्दै ३५ दिने सूचना नगर प्रमुख थारुले जारी गरेका हुन । नगरपालिकाले सूचना जारी गरेको आज उक्त सुचना जारी गरेको ४४ दिन पुगेको छ । मंसिर २ गते नगर प्रमुख थारुले जारी गरेको ३५ दिने सुचनाको म्याद सकिएर पनि थप ९ दिन बितिसक्दा पनि नगरपालिकाले त्यसबारे खासै चासो नदिएको पाइएको छ ।
यतिबेला टीकापुरका लागि निकै चासोको रुपमा हेरिएको अतिक्रमणमा परेको वा उद्योगको नाममा कब्जा गरिएका जग्गाको विषमा नगरपालिकाले एक्सन लिन सक्छ कि सक्दैन भन्ने कुरा निकै महत्त्वपूर्ण छ । केही शहरमा अतिक्रमणमा परेको जग्गा खाली गराउने क्रम चलेपछि त्यसैको सिको टीकापुर नगरपालिकाले पनि गरेको कतिपयको बुझाइ पनि छ ।
नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारु अतिक्रमणमा परेको सबै जग्गा आफ्नो मातहतमा ल्याएर छोड्ने दाबी गर्छन् । उनी केही दिनमा नै अतिक्रमणमा परेको जग्गा खालीका लागि काम अगाडि बढ्ने बताउँछन् । “हामिले ३५ दिने सूचना जारी गरेर त्यस्तो जग्गामा बसोबास वा एउटा प्रयोजनको लागि लिएको तर अर्को प्रयोजनमा प्रयोग भएका जग्गा खाली गर्नका लागि भनिसकेका छौं ।” नगर प्रमुख थारुले भने, “केही दिनमै कार्यपालिकाको बैठक बसेर कुन वडाबाट सुरु गर्ने भन्ने निर्णयमा पुगेर काम अगाडि बढाउँछौं ।”
उनकाअनुसार जग्गा अतिक्रमणको समस्या सबै वडामा रहेको छ । पहिलो चरणमा बजार क्षेत्रमा भएको अतिक्रमणलाई हटाउने गरी योजना बनेको नगर प्रमुख थारु बताउँछन् । “बजार क्षेत्रमा एउटा प्रयोजनको लागि छुट्याइएको जग्गा अर्को प्रयोजनमा प्रयोग भएको छ भने त्यसलाई हटाउँछौं । साथै सडक छेउछाउमा भएको अतिक्रमणलाई हटाउछौं ।” नगर प्रमुख थारुले भने, “यसमा हामी नागरिकहरु पनि जिम्मेवार बन्नुपर्छ । भोलि नगरपालिकाले बाध्य भएर हटाउनुभन्दा आफै हटाए राम्रो हुनेछ ।”
उनले बीचमा निर्वाचन, नगरपालिकामा महालेखा परिक्षणको टोलि आएका कारण निर्धारित सयम भन्दा आफुहरु ढिलो भएको बताउँदै केही दिनमै काम सुरु हुने बताए । नगर प्रमुख थारुले औद्योगिक क्षेत्रको नाममा ब्याक्तीको कब्जामा भएको जग्गालाई पनि व्यवस्थापन गरिने बताएका छन् । “औद्योगिक क्षेत्रको जग्गा पाँच वर्ष भित्र उद्योग सञ्चालनमा ल्याउने गरी नगर विकास समितीबाट लिइएको रहेछ । मैले त्यसको सबै अध्ययन गरिसकेको छु ।” नगर प्रमुख थारुले भने, “जसले उद्योग सञ्चालनका लागि जग्गा लिएका छन्, उनीहरुलाई उद्योग सञ्चालनका लागि भन्छौं नभए अर्को उद्योग सञ्चालन गर्ने ब्याक्तीलाई हस्तान्तरण गर्न लगाउछौं । त्यति गर्दा पनि भएन भने नगर विकास समितीले उक्त जग्गा आफ्नो कब्जामा लिन्छ र आफ्नो अनुकुलमा प्रयोग गर्छ ।”
उनले औद्योगिक क्षेत्रको जग्गाको कित्ता काट रोक्का गरिसकेको बताएका छन् । उनले विकास समितीको बैठकबाट उद्योगको नाममा वितरण भएको जग्गाको कित्ता काट रोक्का गरिएको बताएका हुन ।