५५ मिटर कालोपत्रे डेढ वर्षमा पनि बनेन

शेयेर गर्नुहोस


भजनी ०९ कार्तिक /
भजनी नगरपालिका वडा नं. ३ ठेकिपुरदेखि भजनी बजारसम्म जोड्ने सडक देख्दा प्रायः अधिकांशले मन नमिठो बनाउँछन् ।
भजनी बजार पुग्ने महत्त्वपूर्ण सडक भए पनि त्यो सडक बर्षौदेखी जीर्ण छ । नागरिकस्तरबाट विरोध हुँदा केही सडक गतवर्ष ग्राभेल भएको थियो । जुन सडकको अवस्था अहिले पुनः उस्तै भैसकेको छ । बाँकी पाँच सय मिटर सडक ग्राभेल र कालोपत्रेका लागि २०८० असारमा नगरपालिकाले काफली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । त्यो सम्झौता अनुसार ५५ मिटर सडक कालोपत्रे र बाँकी सडक ग्राभेल सहितको नाली निर्माण थियो । समय बित्यो, आर्थिक वर्ष सकियो तर सडक निर्माणका लागि सम्झौता गरेको ठेकेदार सम्पर्कमा आएन । बरु पेश्की स्वरुप झण्डै सात लाख लिएर हरायो ।
स्थानीयको सडक निर्माण भएर भैरहेको सास्ती कम हुने आशामा सफल हुन सकेन । बरु यसवर्ष वर्षातको समयमा आएको बाढीले सडकलाई झन जीर्ण बनायो । “हामी सहजै अनुमान गर्न सक्छौं कि आम नागरिक, स्थानीय सरकारको प्रत्यक्ष निगरानी रहेको सडकमा त निर्माण कम्पनीले यतिसम्म लापरबाही गर्छन् भने ग्रामीण क्षेत्रमा भैरहेको विकासको अवस्था कस्तो होला ?” स्थानीय मीनबहादुर चौधरीले भने, “अहिले सडकबाट उडेको धुलोले साफ फेर्न गाह्रो हुने गरेको छ । आसपास घर भएकालाई कति सास्ती भएको होला ?” उनले नजिकै रहेको बिद्यार्थीका सयौं बिद्यार्थीहरु पनि त्यस सडकको धुलोको सिकार भएको बताएका छन् ।
सडक निर्माण नहुने करिब निश्चित भएपछि काफलीले ज्ञानेन्द्रबहादुर कर्णलाई सडक सम्पन्न गर्न आग्रह गर्दै सडक निर्माणको जिम्मा दियो । गएको असार मसान्तमा म्याद सकिएको आयोजनाको मंसिर मसान्तसम्म म्याद थप गर्यो । “मैले निर्माण व्यवसायी भएको नाताले काफलीले नसकेको काम उहाँहरुकै आग्रहमा सम्पन्न गर्न लागेको हु ।” निर्माण व्यवसायी कर्णले भने, “ग्राभेलको काम लगभग सकिएको छ । नाली निर्माणको लागि बेसको काम भएको छ ।” उनका अनुसार थप भएको म्यादभन्दा बढीमा एक महिनामा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्माणको काम कर्णले गरे पनि काफलीका प्रबन्धक निर्देशक शंकर प्रसाद शर्माको व्यवहारले काम गरेको भुक्तानी नपाइने हो कि भन्ने डर रहेको बताए । शर्मा ठेक्का लिने र काम नगर्ने निर्माण व्यवसायी मध्ये एक रहेको अताइएको छ । “योजनाको झण्डै सात लाख काफलीले लिएको छ । त्यो पैसा काफलीबाट पाउनेमा शंका छ ।” उनले भने, “पैसा पाए पनि नपाए पनि काम गर्ने जिम्मा लिएपछि काम गर्नुपर्छ । म काम सम्पन्न गर्छु ।”
नगरपालिकाका इन्जिनियर अजय डगौराले नगरपालिकाले एक करोड ३२ लाखमा टेन्डर आव्हान गर्दा काफलीले ९३ लाख ३१ हजार ९ सय १८ मा सम्झौता गरेको बताएका छन् । जुन आयोजनाको लागत डिपिआर सहितको हो । “हामीले निर्माण कम्पनीलाई ताकेता गर्दा सम्बन्धित कम्पनीको व्यक्ति माथी थुप्रै प्रश्नहरु उठेको पाइयो ।” उनले भने, “ठेक्का तोड्नेसम्मको कुरा चल्दा पछि अर्को ठेकेदार मार्फत काम गर्छौं भनेपछि मंसिरसम्मको म्याद थप गरिको हो ।”
उसो त बर्सेनि आउने बाढी र डुवानले भजनी क्षेत्रका अधिकांश सडक काम नलाग्ने स्थितिमा पुग्ने गरेका छन् । त्यसैमा पनि निर्माण कम्पनीको चरम लापरबाहीले कैयौं आयोजना समयमा सम्पन्न हुन नसक्दा त्यसबाट स्थानीयलाई प्रत्यक्ष असर पर्ने गरेको छ । भजनी बजार जोड्ने अर्को मुख्य सडक भजनी जोशीपुर सडक पनि जीर्ण भैसकेको छ । त्यसको मर्मतसम्भारका लागि हालसम्म न नगरपालिकाले चासो दिएको छ न अन्य संघ र प्रदेश सरकारले नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *