अभिभावकको चन्दाबाट शिक्षकलाई पारिश्रमिक

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी १२ फागुन /
कैलालीको भजनी नगरपालिका वडा नं. ७ का संजय लोनिया विगत तीन वर्षदेखि गाउँकै सामुदायिक बिद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ । वडामा रहेको श्री हलौना बाबा आधारभूत बिद्यालयमा अध्यापन गराउँदै आउनुभएका लोनिया वार्षिक २०/२५ हजार पारिश्रमिक पाउनुहुँन्छ ।
अभिभावकहरुले स्वस्फूर्त रुपमा दिएको चन्दाले लोनिया वर्षभरि अध्यापन गराए बापतको २०/२५ हजार पारिश्रमिक पाउनुहुन्छ । त्यो पारिश्रमिक पनि फिक्स हुँदैन । अभिभावक, समाजसेवी तथा अन्य स्थानीयले स्वैच्छिक रुपमा जति संकलन गरेर दियो, त्यसैमा लोनियाले चित्त बुझाउनुपर्ने हुन्छ । ग्रामीण क्षेत्र आर्थिक अवस्था निकै कम्जोर भएका बालबालिका अध्ययन गर्दै आएको उक्त बिद्यालय व्यवस्थापन समितिले अभिभावकबाट चन्दा संकलन गरेर पारिश्रमिक दिने निर्णय गरेपछि उहाँले आफ्नो अध्ययनसँगै बिद्यालयमा अङ्ग्रेजी विषयको शिक्षण गराउँदै आएको बताउनुभयो ।
“बिद्यालयमा बिद्यार्थी संख्याको आधारमा शिक्षक जनशक्ति कम छ । त्यसो हुँदा पठनपाठनमा समस्या भएपछि बिद्यालय व्यवस्थापन समितिले चन्दा संकलन गरेर पारिश्रमिक दिने गरी निर्णय गरेर मैले अध्यापन गराउन थालेको हु ।” उहाँ भन्नुहुन्छ, “न्यून पारिश्रमिक भए पनि गाउँको बिधालय, आफ्नै बालबालिका अध्ययन गर्ने भएपछि मैले समितिको निर्णय स्विकार गर्दै काम गरिरहेको छु ।” यसपछिका बालबालिका शिक्षाको अभावमा अहिले हाम्रा अभिभावकले भोगेको जीवनशैली बेथित नगरुन भन्ने अपेक्षाका साथ बालबालिकाको भविष्यलाई सोचेर पैसाको लागि मात्रै शिक्षण नगरेको लोनिया बताउनुहुन्छ । कक्षा १२ सम्मको अध्ययन गरेका उहाँ त्यो गाउँको त्यहाँसम्म अध्ययन गर्ने मध्येका एक हुन ।
मधेसी र थारु बाहुल्यता रहेको काँढा गाउँका अधिकांश नागरिक कृषि र ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका छन् । त्यहाँ पढाई गर्नुपर्छ भन्ने मानसिकता निकै कमको भएको लोनिया बताउनुहुन्छ । “यहाँ पढाई गर्नुपर्छ भन्ने निकै कम छन् । सबैलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता मात्रै हुन्छ ।” उहाँले भन्नुभयो, “त्यो देखेर पनि मैले बालबालिकालाई पढाइमा लगनशील बनाउन स्थानीयको आग्रहमा काम गरिरहेको छु ।” उहाँले अहिले अङ्ग्रेजी र स्वास्थ्य शारीरिक शिक्षाको अध्यापन गराउँदै आउनु भएको छ । दैनिक ६ पिरिएड अध्यापन गराउँदै आएका लोनिया आफ्नै गाउँघरका बालबालिकालाई अध्यापन गराउन पाउँदा निकै खुशी हुनुहुन्छ ।
बिद्यालयमा हाल एक सय ७१ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । पाँच कक्षासम्मको अध्ययन हुँदै आएको बिधालयमा लोनिया बाहेकका ६ जना शिक्षक कार्यरत छन् । त्यसमा पनि दुईजना बालविकास, दुईजना प्राथमिक तह स्थायी, एकजना राहत र एकजना नगर अनुदानका कार्यरत छन् । बिद्यार्थी संख्याको आधारमा शिक्षक संख्या कम भएकै कारण स्थानीयले लोनियालाई चन्दा संकलन गरेर शिक्षकको।जिम्मेवारी दिइएको प्रधानाध्यापक महेश्वरी ओझा बताउनुहुन्छ ।
बिधालयसँग आम्दानीको कुनै स्रोत छैन । तीन कट्टामा सिमित रहेको बिद्यालयसँग पाँच बिघा भन्दा बढी ऐलानी जग्गा छ । जुन ऐलानी जग्गा स्थानीयले अतिक्रमण गरेर वर्षौंदेखि भोगचलन गर्दै आएका छन् । २०६३ सालमा स्थापना भएको बिद्यालयका लागि त्यसबेला बिद्यालयसँग जोडिएको पाँच बिघा भन्दा बढी जग्गा अतिक्रमण खाली गरेर बिद्यालयको आम्दानीसँग जोड्ने निर्णय भएर हस्तान्तरण समेत भएको थियो । पछि पुनः स्थानीयले जग्गा अतिक्रमण गरेर भोगचलन गर्न थालेपछि बिद्यालय समस्यामा पर्दै गएको प्रधानाध्यापक ओझाको भनाई छ ।
“आज हामीसँग भएको सबै जग्गा भोगचलन गर्न पाएको भए बिद्यायलको सामान्य खर्च अनि एकजना शिक्षक आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न कुनै समस्या हुने थिएन ।” प्रधानाध्यापक ओझा भन्नुहुन्छ, “संजय सर तीन वर्षदेखि अध्यापन गराउँदै आउनुभएको छ । वार्षिक १५/२० हजार पारिश्रमिक लिएर दिनभर काम गरेको देख्दा आफैलाई अप्ठ्यारो लाग्छ । उहाँको काम अनि इमान्दारिताका अगाडि नतमस्तक हुनु बाहेक केही छैन ।”
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बिधालयमा शिक्षकको व्यवस्थापन अस्तव्यस्त रहेको उल्लेख गर्नुभएको छ । “केही दिन अगाडि मात्रै बिधालय अनुगमन गर्दा कतै विद्यार्थी अनुपातमा धेरै शिक्षक छन् भने कतै शिक्षकको अभाव छ ।” उहाँ भन्नुहुन्छ, “आउने शैक्षिकसत्रबाट त्यसलाई व्यवस्थापन गरेर लैजाने तयारी गरेका छौँ ।” उहाँले शिक्षक लोनियाको कार्य निकै उत्कृष्ट भएको उल्लेख गर्दै अध्ययन अनुमतिपत्र नभएका कारण तत्काल लोनियाको विषयमा नगरपालिकाले कुनै निर्णय लिन सक्ने स्थिति नरहेको स्पष्ट पारे ।
अनुगमनका क्रममा कतिपय शिक्षक दुईपटकको हाजिर एकैपटक लगाएर बिहानै बिधालयबाट घर जाने गएको भेटिएको बताउँदै शिक्षा अधिकृत पंखबहादुर शाहले कैयौं गल्ती कमजोरीलाई सुधार्ने काममा आफुहरु लागेको बताउनुभयो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *