शेयेर गर्नुहोस
टीकापुर १३, टीकापुर /
आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेर टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडारी बिदाइ भएका छन् ।
टीकापुर अस्पताल प्रशासनले अध्यक्ष सोडारीलाई एक कार्यक्रमको आयोजना गर्दै मंगलबार बिदाइ गरेको हो । २०७८ चैत ३ गते सुदुरपश्चिक प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार अस्पतालको जिम्मेवारीमा आएका सोडारीले चैत ८ गतेबाट कार्यभार सम्हालेका थिए । अस्पतालको सेवा प्रवाहका विषयमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका अध्यक्ष सोडारीले आफ्नो कार्यकाल पुर्णरुपमा सफल भएको बताएका छन् । “हिजोको टीकापुर अस्पताल अनि आजको अस्पतालको अवस्थालाई मैले भनिरहनु पर्ने स्थिति छैन । त्यो अस्पतालमा पुगेका सेवाग्राहीलाई राम्रोसँग थाहा होला ।” उनले भने, “संरचनागत विकास सहित, अस्पतालमा विशेषज्ञ सेवा लगायतका आवश्यक कुरामा अस्पतालको मुहार फेरिएको छ ।”
उनका अनुसार हाल अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । त्यसैगरी ९ जना मेडिकल अधिकृत, दुईजना डेन्टल मेडिकल अधिकृत, एकजना फिजीयोथेपापिष्ट, फार्मेसी अधिकृत एकजना, वायोमेडिकल अधिकृत एकजना सहित दुई सय १८ जना जनशक्ति अस्पतालमा कार्यरत रहेका छन् । उनले चिकित्सक नै बस्न नमान्ने स्थितिबाट अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक व्यवस्थापन गर्न सफल भएको बताए ।
अध्यक्ष सोडारीका अनुसार उपचारका लागि आवश्यक कैयौं उपकरण अस्पतालले पाएको छ । अस्पतालमा आइसियु देखि भेन्टिलेटर सेवा सम्म सञ्चालनमा रहेको छ भने ओपिडी सेवा अस्पतालले बिहान ८ बजेबाट सुरु गरेको छ । उनले विशेषज्ञ सेवा विस्तार भएसँगै अस्पतालमा पहिलेको तुलनामा दोब्बर सेवाग्राहीले सेवा लिने गरेको बताए । “बिहान ८ बजेबाट साझ ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुँदै आएको छ । दैनिक एक हजारसम्म सेवाग्राहीले उक्त सेवा लिँदै आएका छन् ।” उनले भने, “अहिले अस्पतालमा अन्य सेवाहरुमा पनि निकै सहजता भएको छ । आकस्मिक कक्ष व्यवस्थापन गरेका छौँ ।”
आफ्नो कार्यकालमा समितिका पदाधिकारी र अस्पताल प्रशासनको पनि राम्रो साथ पाएको उनको भनाई छ । “मैले मात्रै सबै गरेको भन्दा त्यो अपत्यारिलो हुन्छ । सबैको सहयोग, समन्वय र सहकार्यले टीकापुर अस्पताललाई अस्पताल बनाउन सफल भएका छौँ ।” उनले भने, “अब यसलाई स्थिर राखेर बाँकी अपुरा कामहरू आउने समितिको नेतृत्वले गर्न सक्यो भने प्रदेशकै उत्कृष्ट अस्पताल टीकापुर अस्पताल बनाउन सकिन्छ ।”
५१ शय्याको स्वीकृती पाएको अस्पतालले अहिले आन्तरिकबाट थप ३२ शय्या थप गरेर ८३ शय्या सञ्चालन गर्दै आएको छ । अस्पताललाई एक सय शय्याको बनाउने मुख्य उद्देश्य आउने नेतृत्वको हुनुपर्ने उनको भनाई छ । अध्यक्ष सोडारीले सिटी स्केन मेसिनको लागि सम्झौताको प्रक्रिया भैरहेको बताउँंदै अस्पतालका लागि अब एमआरआई मेसिनको व्यवस्थापन प्रमुख आवश्यकता रहेको बताए । अस्पतालबाट बिदाइ भएका अध्यक्ष सोडारीले अब आउने नेतृत्वलाई आवश्यक सुझाव सहित अस्पतालको बाकी मुहार फेर्नका लागि एकाग्रता भएर लाग्न सुझाव पनि दिएका छन् ।










