शेयेर गर्नुहोस
टीकापुर ३० मंसिर /
तारा एयरलाइन्सले टीकापुर विमानस्थलदेखी काठमाडौंको आजबाट नियमित उडान भर्ने भएको छ ।
न्यूनतम १५ सिटको टीकापुर नगरपालिकाले ग्यारेन्टी लिएपछि ३५ वर्षदेखि बन्द अवस्थामा रहेको टीकापुर विमानस्थल आजबाट नियमित सञ्चालनमा आउने भएको हो । कुनै यात्रु नपाउँदा समेत पालिकाले १५ जना यात्रु बराबरको रकम तारा एयरलाइन्सलाई दिनेगरी पालिकासँगको सम्झौता गरेको छ । अब काठमाडौं-नेपालगञ्ज-टीकापुर र टीकापुर-नेपालगञ्ज-काठमाडौं उडान हुनेछ ।
स्थानीय तह र पर्यटन व्यवसायीको सक्रियातमा २०४६ सालदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आउन लागेको हो । नगरपालिकाले दिएको जानकारी अनुसार आइतबार आज पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ । ‘मंसिर ३० गते आज र पुष ४ गते टीकापुरबाट उडान हुनेछ भने त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक/एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ ।’ नगर प्रमुख थारुले भने, ‘पालिकाले तारा एयरलाइन्ससँग न्यूनतम १५ सिटको सुनिश्चितता गर्ने सहमति प्रदान गरेकाले उडान निश्चित भएको हो ।’
नगर प्रमुख थारुका अनुसार तारा एयरलाइन्सले नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा नेपालगञ्ज-टीकापुर उडान भर्नेछ । टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौँ-टीकापुरको एक तर्फी भाडा नौ हजार रुपैयाँ निर्धारण गरिएको नगर प्रमुख थारुले जानकारी दिएका छन् ।
टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । साथै यात्रुहरुले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेस्थित पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको बताइएको छ ।
विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुरका नगरप्रमुख थारुले स्थानीयको चाहनाबमोजिम विमानस्थल सञ्चालनमा ल्याउन पालिकाले पहल गरिरहेको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने पनि बताएका छन् । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौँ-नेपालगञ्ज-टीकापुर र टीकापुर -नेपालगञ्ज -काठमाडौँ उडानको तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।
काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्तान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउनेछ ।










