सुदुरपश्चिम महोत्सव २२ गतेदेखि

शेयेर गर्नुहोस


टीकापुर ०२ मंसिर /
यसवर्ष  सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि धनगढीमा हुने भएको छ ।
कैलालीको उद्योग वाणिज्य संघको आयोजनामा हुँदै आएको महोत्सवको २० औं संस्करण मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म आयोजना हुने भएको हो । बुधबार पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग तथा व्यापारको विकास र मौलिक कला, संस्कृति एवं परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको संघका अध्यक्ष पुष्कर ओझाले जानकारी दिएका छन् ।
महोत्सवको तयारीको लागि २५ वटा समिति गठन गरिएको अध्यक्ष ओझाले जानकारी दिए । ‘सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुने महोत्सवले विभिन्न चुनौतीका कारण प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः गतिशील बनाउन सहयोग पुग्ने अपेक्षा हामीले गर्दै आएका छौँ ।” ओझाले भने, “आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि महोत्सव महत्त्वपूर्ण मानिएको छ ।”
यसवर्षको महोत्सवमा व्यावसायिक तथा कृषि प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको जनाएको छ । कृषि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि, ताजा तरकारी तथा कृषि उपजको प्रदर्शनीसँगै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य राखिएको अध्यक्ष ओझाको भनाइ छ । महोत्सवमा सुदूरपश्चिमका मौलिक कला, संस्कृति, लोकसंगीत, लोकनृत्य, लोकभेषभूषा तथा परम्परालाई विशेष स्थान दिइनेछ। विगतका महोत्सवबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल कलाकारलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।
महोत्सव स्थलमा सुदूरपश्चिमका मौलिक परिकारसहित विभिन्न खानाका परिकार उपलब्ध हुनेछन्। खाद्य पदार्थको गुणस्तर, सरसफाइ तथा स्वच्छ वातावरण व्यवस्थापनका लागि होटल व्यवसायी संघसँग आवश्यक समन्वय गरिएको जनाइएको छ । यसवर्षको महोत्सवमा करिब चार करोड रुपैयाँ लगानी हुने र करिब १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रका झण्डै चार सय २५ वटा स्टल रहनेछन् । यसपटकको महोत्सवको मुख्य आकर्षणका रूपमा ‘अम्ब्रेला स्ट्रिट’ रहनेछ । युवापुस्तालाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिने उक्त संरचना महोत्सवको आकर्षणको केन्द्र बन्ने आयोजकको अपेक्षा छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा संघका आजीवन सदस्यलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने अध्यक्ष ओझाले बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *