शेयेर गर्नुहोस
टीकापुर १० साउन /
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका लागि तीनबुँदे सहमति भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच बजेट निर्माणमा देखिएको असमझदारी,बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले र कर्णाली, सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने बताइएको छ । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभाहरूमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णय दुई दलले गरेका छन् ।
मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ ।
दुई दलको सहमतिसँगै सुदुरपश्चिम प्रदेश सरकार गठनको बाटो खुलेको छ । पटकपटक मुख्यमन्त्री बन्ने अपेक्षा राखेका नेकपा सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् । नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई एमालेले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो ।










