खंडहर जमरा किनार हराभरा

शेयेर गर्नुहोस


टीकापुर १० साउन /
सामाजिक क्षेत्रमा सरकारकै लगानी हुनुपर्छ भन्ने मानसिकतालाई तोड्दै खंडहर हरेको टीकापुर स्थित जमरा किनार यतिबेला हराभरा छ ।
लम्की टीकापुर सडक खण्ड अन्तर्गत जमरा पुलको उत्तरतर्फको केही भाग विश्वशान्ति योग आश्रम स्वास्थ्य, शान्ति, योग र प्राकृतिक सौन्दर्यको उत्कृष्ट गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । जहाँ त्यो खालको सुन्दरताको परिकल्पना सायद कसैले गरेका थिएनन् । राज्यको एक रुपैयाँ लगानी बिना त्यो त्यो सुन्दरता, त्यो आनन्दको वातावरण दानदाताको सहयोगबाट सम्भव भएको हो ।
स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरूको आर्थिक सहयोगमा निर्माण भइरहेको यस आश्रमको शिलान्यास वि.सं. २०८१ वैशाख ५ गते गरिएको हो । आश्रमका संस्थापक दीर्घराज गिरीको अथक मेहनत, समर्पण र सेवाभावका कारण खंडहर जमरा किनारले स्वरुप फेर्ला भन्ने विश्वास सायद कसैको थिएन । छोटो समयमै परिवर्तन भएको जमरा किनारमा पुग्दा छुट्टै आनन्द आउने गरेको स्थानीय आशा चौधरीले बताइन् । “नागरिकहरूमा निस्वार्थ भावना भए त्यसको प्रतिफल राम्रो आउँछ भन्ने उदाहरण हो यो ।” उनले भनिन्, “हरेक कामका लागि सरकारकै मुख ताक्नु हुँदैन भन्ने गतिलो उदाहरण पनि हो ।”
त्यहाँ योगाभ्यासका अतिरिक्त आश्रमको प्राकृतिक सौन्दर्यले पनि सर्वसाधारणलाई आकर्षित गरिरहेको छ । हरियाली वातावरण, फूलबारी, खुला परिसर र शान्त वातावरणका कारण दैनिक दर्जनौं आन्तरिक तथा बाह्य आगन्तुक आश्रम अवलोकनका लागि पुग्ने गर्छन् । आश्रममा आउने आगन्तुकको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । अझै अहिले फोटो खिच्ने, भिडियो बनाउनेको लागि राम्रो स्थल बनेको छ ।
योग प्रशिक्षक गिरीले आश्रम निर्माणका लागि दुई सय देखि माथीको स्वस्फूर्त सहयोग गरेको बताएका छन् । कुनै समय टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारुले जमराको दुबै किनारलाई पदमार्गको रुपमा विकास गर्ने योजना अगाडि सारेका थिए । उनको यो योजना अलपत्र परे पनि गिरीले केही भागलाई भने सुन्दर बनाउन सके । खुला चौर, आजभोलि पनि फुलेका ढकमक्क फुलले भित्र प्रवेश गरेका हरेक नागरिकहरूलाई लोभ्याउने गरेको छ ।
गिरीले नागरिकस्तरबाट राज्यले गर्नुपर्ने काममा सहयोग गरेको उल्लेख गर्दै अहिलेसम्म राज्यको कुनै लगानी त्यहाँ नभएको जानकारी दिए । “यो भुमी, यो सबै संरचना राज्यकै हो ।” उनले भने, “यो हामीले नागरिकको कर्तव्य पूरा गरेका हौं । सरकारलाई चाहिएको दिन यो सबै संरचना सरकारलाई हस्तान्तरण गर्न कुनै समस्या हुनेछैन ।” त्यो आश्रममा भएको जनश्रमदान र आर्थिक सहयोगबाट ठुला ठुला काम गर्न सकिन्छ भन्ने पुराको पुष्टि मात्रै भएको छैन, हरेक कामका लागि सरकारको बाटो कुर्ने बानीमा परिवर्तन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *