शेयेर गर्नुहोस
टीकापुर १८ कार्तिक /
टीकापुर नगरपालिकाले कर्मचारीको आन्तरिक सरुवाको लागि कार्यविधि तयार पार्ने भएको छ ।
हचुवाको भरमा हुने कर्मचारीको आन्तरिक सरुवा पटकपटक विवादमा आइरहने नगरपालिकाले अब भने कार्यविधि नै बनाएर कर्मचारीको आन्तरिक सरुवा गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले कर्मचारीको आन्तरिक सरुवाको कार्यविधिको काम भैरहेको बताइन् । “कार्यविधिको काम गरिरहेका छौँ । छिट्टै यसलाई कार्यान्वयनमा ल्याएर कर्मचारीहरुको आवश्यकता, क्षमता र पाइक पर्ने गरि कर्मचारीको सरुवा अगाडि बढ्छ ।”
नगरपालिकामा एक दशक भन्दा लामो समयदेखि एउटै व्यक्ति एउटै शाखा र पदमा रहेर अहिलेसम्म काम गर्दै आएका छन् । नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतलाई आफ्नो अधिनमा लिएर आफू अनुकुल गर्दै, गराउँदै आएका केही कर्मचारीका कारण नगरपालिका भित्रको आन्तरिक कर्मचारी सरुवाको विषय पटकपटक विवादमा आउने गरेको हो । जुन कर्मचारीले भनेअनुसार काम गरेन त्यहीँ, कर्मचारी सरुवाको पहिलो नम्बरमा पर्दै आएको त्यहीँ भित्रका कर्मचारी बताउँछन् । यसले कार्यालय भित्रको कामकाज सहि ढंगबाट नभएको पाइन्छ । केही व्यक्तिको हरेक वर्ष सरुवा हुँदा केही व्यक्ति पहुँचकै भरमा त्यहीँ शाखामा बसिरहने प्रवृत्ति कार्यविधि कार्यान्वयनमा आएपछि रोकिने प्रमुख प्रशासकीय अधिकृत बास्तोलाको भनाइ छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले सुरुवा गरेका केही कर्मचारीले खटाएको क्षेत्रमा काम सुरु गर्दा केही कर्मचारी अझैसम्म काम बिहिन बनेका छन् । विवादका कारण वडा नं. ४ को अस्नेहरी शहरी स्वास्थ्य केन्द्रमा मात्रै कर्मचारी हेरफेर गरिएकोमा त्यहाँ खटाइएका जनस्वास्थ्य निरीक्षक केवलसिंह भुल अझैसम्म केन्द्रमा हाजिर हुन सकेका छैनन । बाहिरबाट सरुवा भएर आएकी प्रशासन तर्फकी पाँचौ तहकि रुपा विष्टलाई स्वास्थ्य शाखामा खटाइएको छ । उनीहरूले दरबन्दी नभएको स्थानमा गएर काम गर्न नसकिने भन्दै प्रमुख प्रशासकीय अधिकृत बास्तोलालाई विकल्प खोज्न आग्रह गर्दै आएका छन् ।









