कर्मचारी र जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


टीकापुर ०२ जेठ (रासस):
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिकहरुको काममा जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा मुख्यमन्त्री शाहले नागरिकहरूसँग जनप्रतिनिधि र कर्मचारीहरु जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो ।
“नागरिकहरूले विश्वास गरेर नेतृत्व गर्न पठाएका हुन्छन् । हामीले नागरिकहरूको विश्वास डगमगाउने गरी काम गर्नुहुँदैन ।” मुख्यमन्त्री शाहले भन्नुभयो, “त्यसका लागि सेवा प्रवाह गर्ने कर्मचारी र नीति नियम बनाउने जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।” उहाँले प्रदेश सरकारले यसअघिको सरकारले गरेका राम्रा कामहरूलाई निरन्तरता दिने बताउनुभयो । “नराम्रा कामहरू निरुत्साहित गर्दै राम्रा कामहरूलाई निरन्तरता दिन्छौं ।” मुख्यमन्त्री शाह भन्नुहुन्छ । स्थानीय सरकारले योजना माग गर्दा धेरै नागरिकहरुले त्यसबाट सुविधा पाउने योजना माग गर्न पमि मुख्यमन्त्री शाहले आग्रह गर्नुभएको छ ।
साथै, मुख्यमन्त्री शाहले प्रदेश सरकारले छिट्टै पुर्णता पाउने बताउनुभएको छ । पत्रकारको जिज्ञासा्मा दुईतीन दिनभित्र सरकारले पुर्णता पाउने बताउनुभएको हो ।
“सरकारलाई पुर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौं । त्यो महसुस हामीले पनि पगेका छौं ।” मुख्यमन्त्री शाह भन्नुहुन्छ, “केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो । त्यसैको असरका कारण सरकारलाई पुर्णता दिने कुरामा ढिलाई भएको हो । उहाँले सरकारले पुर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यहरूले गति लिने बताउनुभएको छ ।
अहिले पनि प्रदेशका चार मन्त्रालयको नेतृत्व मुख्यमन्त्री शाहले नै सम्हाल्नु भएको छ । सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पुर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पुर्णता पाउन नसकेको हो ।
प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर शाहले विकासका आयोजनामा राजनीति नगर्न आग्रह गरेका छन् । उनले यो पार्टी त्यो पार्टी, यसको कार्यकर्ता उसको कार्यकर्ता भनेर विकासका आयोजना माग्न गर्न नआउन आग्रह गर्दै विकासका आयोजनालाई साझा एजेण्डा बनाउन आवश्यक रहेको बताएका छन् । “विकासलाई आवश्यकताको आधारमा प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने छ । यसमा कसैले शंका नगरे पनि हुन्छ ।” मन्त्री देउवाले भने, “सकेसम्म स्थानीय रहले भन्दा पनि वडा तहबाट योजना आए त्यो हाम्रा लागि राम्रो हो ।”
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले टीकापुरले विकासमा प्रदेश तथा संघीय तहबाट सहयोग हुने अपेक्षा गरेका छन् । उनले मुख्यमन्त्री शाहलाई टीकापुरको विकास योजनाका लागि बजेट मागका लागि ज्ञापनपत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री आफ्नै क्षेत्रको भएका कारण पनि टीकापुरले आशा गर्ने ठाउँ रहेको बताउँदै प्रदेश सरकारसँग माग गरिएको आयोजनाको लागि आउने आर्थिक वर्षमा प्रयाप्त बजेट विनियोजन हुने विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले केन्द्रबाट सुदुरपश्चिम सधै पछाडि पारिएको स्मरण गर्दै सुदुरपश्चिमबाट टीकापुर पछाडि पार्ने काम भएको बताएका छन् । “केन्द्रले सुदुरपश्चिमलाई उपेक्षा गर्ने, सुदुरपश्चिमले टीकापुरलाई उपेक्षा गर्दै आएको छ ।” नगर उपप्रमुख शाहले भने, “हामीलाई आशा छ । अब टीकापुर उपेक्षामा पर्ने छैन । टीकापुरले न्याय पाउनेछ ।” मुख्यमन्त्री शाहले टीकापुर स्थिति बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिधालय र क्याम्पसको अवलोकन समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *