भोक, प्यासको प्रवाह नगरी धान बेच्न पालो कुर्दै किसान

शेयेर गर्नुहोस

झलनाथ खनाल, टीकापुर ०२ मंसिर /
न भोक, न प्यास, नत निद्राको चिन्ता एउटै धान बिक्री हुन्छ कि हुँदैन ।
यतिबेला किसानको चिन्ता त्यतिमात्र छ, सरकारले तोकेको मुल्यमा धान बिक्री गर्न पाउ । धान भित्र्याएको झण्डै डेढ महिनासम्म सरकारले कहिले धान खरिद गर्ला र बिक्री गरौंला भनेर पर्खेका किसानलाई अब आफ्नो पालो आउँछ कि आउँदैन भन्ने चिन्ता छ । कार्तिक ३० गते बिहानै टीकापुर स्थित खरिद केन्द्रमा पुगेका जानकी गाउँपालिका वडा नं. ७ भुस्रीका सुक्रीम डगौरा थारुसँग झण्डै तीन सय क्विन्टल धान छ । गतवर्ष खाद्यले धान खरिद नगर्दा व्यापारीलाई दुई हजार पाँच सय रुपैयाँ प्रति क्विन्टल धान बेचेर घर फर्किएका उनले यसवर्ष सबै धान ल्याएका छैनन् । “कोटा पुगेपछि पालो आउँदैन । त्यहीँ भएर यसवर्ष आधा धान मात्रै ल्याएर आएको छु ।” उनी भन्छन्, “यसवर्ष पनि पालो पाउन मुस्किल छ ।”
नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष धान खरिद सुरु गरेपछि कम्पनीको टीकापुरस्थित खरिद केन्द्रमा सयौंको सङख्यामा ट्याक्टर, पावर टिलर, डन्लवहरुको लाइन छ । अघिल्लो वर्ष कात्तिक ११ गते काँटा लगाएर कैलालीमा ३८ हजार क्विन्टल धान खरिद गरेको सरकारले यसवर्ष ३० हजार क्विन्टल धान मात्रै किन्ने भनेको छ । किसान गतवर्षको भन्दा कम धान खरिद हुने सुचनाले झन तनाबमा छन् । “हाम्रा लागि जसको सरकार आए पनि पीडा उस्तै हो । नयाँ सरकार आउँदा समयमा मल र उत्पादन भएको वस्तु सहजरूपमा बिक्रीको वातावरण बन्ला भन्ने आशा हुन्छ ।” टीकापुर नगरपालिका वडा नं. ३ शंकरपुरका सुवास महरा भन्छन्, “लाइनमा सयौं किसान छन् । एउटै काँटा लगाइएको छ । कति रात यो खुला आकाश मुनि बस्नुपर्ने हो थाहा छैन ।”
जिल्लाको मोहनपुर, गौरीगंगा, भजनी, जोशीपुर, टीकापुर र सत्तीबाट यसवर्ष धान खरिद गरिनेछन भने टीकापुरमा लगभग ७ हजार क्विन्टल धान खरिद हुनेछ । गतवर्ष खाद्यले टीकापुरबाट ९ हजार क्विन्टल धान खरिद गरेको थियो ।
खाद्यले एउटा किसानसँग निश्चित धान खरिद गर्ने गरी मापदण्ड बनाएको छ । कम्पनीका  बरिष्ठ सहायक पुष्पराज बजगाईका अनुसार धान बेच्न आउने किसानले सफा धान ल्याउनु पर्नेछ  भने एक जना किसानले ३० क्विन्टल धान मात्रै बेच्न पाउनेछ । ३० क्विन्टल भन्दा बढी धान खरिद नभए सयौं क्विन्टल धान उत्पादन गर्ने किसान हतोत्साहित हुने चिन्ता छ । “मसँग दुई सय क्विन्टल भन्दा बढी धान छ । अब खाद्यले ३० क्विन्टल मात्रै खरिद गर्दा बाँकी धान प्रति क्विन्टल दुई हजार पाँच सयमा बिक्रि गर्नुपर्छ ।” भिगुराम थारु भन्छन्, “६५ वर्षको उमेरमा पनि त्यहीँ ३० क्विन्टलका लागि भए पनि कति दिन खुला आकाश मुनि बस्नुपर्ने हो थाहा छैन ।”
सरकारी खरिदको कोटा सिमित हुँदा जिल्लाका सबै किसानले आफ्नो उत्पादन कम्पनीलाई बिक्री गर्न पाउने अवस्था यस वर्ष पनि देखिएन । सरकारी खरिदको मात्रा कम भएकाले बाँकी धान व्यापारीलाई बेच्नुपर्ने बाध्यता रहेको किसान धनसिंह साउँदको भनाइ छ । “कोटा कम छ । एउटै किसानसँग सयौं क्विन्टल धान छ ।” उनी भन्छन्, “सस्तैमा भए पनि व्यापारीलाई धान बेच्नुपर्ने बाध्यता छ ।”
सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय ६० रुपियाँ र मध्यम धानको तीन हजार ८ सय ६० रुपियाँ निर्धारण गरेको छ । मल, बीउ, सिँचाइ, मजदुरी र कृषि उपकरणको लागत बढिरहेको अवस्थामा न्यून मूल्यमा धान बेच्नु परिरहेको र त्यहीँ पनि कोटा भएपछि उत्पादन बिक्री गर्न नसकिने समस्या रहेको किसानहरूको भनाइ छ । “गतवर्ष पाँच दिन पाँच रात खुला आकाश मुनि बिताएर खाद्यले धान खरिद गर्न छोडेपछि व्यापारीलाई सस्तोमा धान बिक्री गरेर घर फर्किएको थिए ।” टीकापुर नगरपालिका वडा नं. १ बनगाउँका कृष्ण चौधरीले भने,”यसवर्ष पनि त्यस्तै हुने सम्भावना छ ।”
व्यापारीले अहिले प्रती क्विन्टल दुई हजार ७ सयसम्ममा धान खरिद गर्दै आएका छन् । खाद्यले धान खरिद बन्द गरे त्यहीँ मूल्य पनि घट्ने चिन्ता किसानलाई छ । “यता पालो कुरेर बसेका छौँ ।” जानकी गाउँपालिका वडा नं. ६ जगतपुरका जनक चौधरी भन्छन्, “खाद्यमा बिक्री नभएपछि व्यापारीले झन मौकाको फाइदा उठाउँछन् । त्यसै परे अहिले खरिद गरिरहेको मूल्य भन्दा सस्तोमा व्यापारीलाई बाध्यताले धान बिक्रि गर्नुपर्ने हुनसक्छ ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *