खाजा नास्तामा सिन्डिकेट लगाएको भन्दै विरोध

शेयेर गर्नुहोस


भजनी ०६ असार /
भजनी नगरपालिकाले खाना तथा खाजाको विषयमा सिन्डिकेट लगाएको भन्दै यतिबेला सामाजिक संजालमा व्यापक विरोध हुन थालेको छ ।
नगरपालिकामा हुने हरेक कार्यक्रमहरु सञ्चालन गर्दा होस् वा अन्य खाना तथा खाजा खानुपर्ने स्थितिमा एउटै होटललाई मात्रै प्राथमिकतामा राखेको भन्दै विरोध भएको हो । खासगरी स्थानीय सरकारले आफ्नो क्षेत्रका सबै व्यवसायलाई समान रुपमा हेर्नुपर्ने र त्यसैअनुसारको अवसर सिर्जना गर्नुपर्ने भए पनि नगरपालिकाले खाना खाजाका लागि सिन्डिकेट लगाएको आरोप लाग्न थालेको छ ।
नगरपालिकाका नगर प्रमुखको निर्देशनमा भजनी बजारमा सञ्चालन गर्दै आएको भिजन होटल एण्ड रेस्टुरेन्टको विकल्प अर्को होटल हुन नसकेको स्रोतको दाबी छ । उक्त होटलको सेवासुविधाको हिसाबले सामान्य स्वास्थ्य मापदण्ड समेत पालना नगरेको एकजना वडा अध्यक्षले बताए । होटलको सेवा सर्वसुलभ नभएको गुनासो नगरपालिकाका कर्मचारीहरुले गर्दै आएका छन् ।
तर, यो कुरालाई नगर प्रमुख केवल चौधरीले सिधै अस्विकार गरेका छन् । उनले भजनीका हरेक व्यवसायीसँग नगरपालिकाको समन्वय र सहकार्य हुँदै आएको दाबी गरे । “कसैले मेरो चरित्र हत्या गर्ने हिसाबले बनाएको रणनीति हो । हामीले एउटै होटलाई प्राथमिकतामा राखेर कसैमाथि सिन्डिकेट लगाएका छैनौं ।” उनले भने, “यदि कसैलाई त्यस्तो लागेको भए नगरपालिकामा आएर रेकर्ड माग्दा पनि हुन्छ ।” उनले सानातिना कुराहरूमा नलागेर समग्र भजनीको समृद्धिका लागि हातेमालो गर्न पनि सबैलाई आग्रह गरेका छन् । तर, नागरिकहरू जनप्रतिनिधिको कार्यशैलीबाट भने सन्तुष्ट हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *