शेयेर गर्नुहोस
टीकापुर १९ साउन/
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था टीकापुरको कान्छो संस्था हो ।
टीकापुरका नागरिकहरूलाई शुद्ध पानी वितरण गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको संस्था अझै सबल अनि सक्षम बन्न सकेको छैन । झण्डै साढे ८ हजार उपभोक्ता रहेको खानेपानी संस्थासँग अझै १२ करोड भन्दा बढि ऋण छ । संस्था स्थापनाको बेला देखिएका हरेक चुनौतीले सायद खानेपानी बन्दैन भन्ने पनि थियो । किनभने त्यो बेला साढे ७ हजारमा धारा जडान गर्ने उपभोक्ता संस्थासँग थिएनन् । आज १८ हजार तिरेर धारा जडान गर्ने उपभोक्ता बढ्दै गएका छन् ।
जसरी उपभोक्ताहरुले खानेपानी प्रतिको लगाव राख्दै आएका छन्, त्यसैगरी खानेपानी संस्था सञ्चालनका लागि गएका पदाधिकारीहरुको गैरजिम्मेवार पनका कारण संस्था धराशायी बन्ने चिन्ता पनि छ । विगतको संस्था निर्माण देखि हालसम्मका पदाधिकारीहरुले संस्थामा रजाइँ गरे भन्दा सायद फरक नपर्ला । किनभने संस्थामा आबद्ध कुनै पदाधिकारीले त्यहाँबाट पेश्की नलिएको रेकर्ड छैन । अझै केही पदाधिकारीले लिएको पेश्की त अझैसम्म चुक्ता पनि भएको छैन । अर्को कुरा जुन पेश्कीको रकम न लेखापरीक्षणको प्रतिवेदनमा छ न अन्य कुनै कागजातमा । उपभोक्ताको नाममा केही पदाधिकारीले खानेपानीमा रजाइँ गरेको यस्ता घटनाक्रमले थप पुष्टि गर्दै गएको छ ।
आर्थिक रुपमा सबल खानेपानी संस्थामा अन्य कुराहरू पनि त्यस्तै लथालिङ्ग छन् । खानेपानीको गाडी सबैभन्दा बढी दुरुपयोग हुने मध्येको एक हो । अध्यक्ष लगायतका पदाधिकारी तथा कर्मचारीहरुको परिवारलाई ओसार्ने काममा सबैभन्दा बढी गाडीको दुरुपयोग भैरहेको छ । त्यतिमात्र नभई पुर्व पदाधिकारीहरुले अझैसम्म गाडीको मजा लिइरहेका छन् । “संस्थामा आउने नेतृत्व संस्थाको लागि भएन । व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ अग्रसर भए ।” स्थानीय उपभोक्ता जनक चौधरीले भने, “टीकापुरको समृद्धिसँग जोडिएको खानेपानी संस्था राजनीतिक स्वार्थमै सकिन्छ कि भन्ने डर पनि छ ।”
२४ गते चुनावी साधारण सभा
खानेपानी संस्थाको यहीँ साउन २४ गते चुनावी साधारण सभा हुँदैछ । चुनावी साधारण सभा भएकै कारण संस्थाको नेतृत्वका लागि हानथाप पनि सुरु भैसकेको छ । कतिपयले उम्मेदवारी घोषणा समेत गरिसकेका छन् । संस्थाको कार्यसमितिमा एक कार्यकाल बिताएको व्यक्ति मात्रै संस्थाको अध्यक्ष बन्न पाउने व्यवस्था छ । अन्य पदाधिकारीहरुको हकमा उपभोक्ता भए पुग्ने व्यवस्था छ ।
साधारण सभाको लागि टोलबाट प्रतिनिधि छनोट गरिसकेको छ । नेतृत्व चयनका लागि हुने निर्वाचनमा भने उपभोक्ता सबैले मतदान गर्न पाउने छन् । “हामीलाई कुनै दल र पार्टी भन्दा पनि निस्वार्थ संस्थाको मर्मअनुसार काम गर्ने नेतृत्व चाहिएको छ । जसले विगतका जस्तो संस्थालाई राजनीतिक भर्ती केन्द्र बनाए जस्तो नहोस् ।” उपभोक्ता डण्डराज शर्माले भने, “टीकापुर खानेपानी अरु संघसंस्था जस्तो होइन । यो आयोजना टीकापुरको भविष्यसँग जोडिएको छ ।”
कोको छन् नेतृत्वका आकांक्षी ?
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी नेतृत्वका लागि आकांक्षी धेरै देखिएका छन् । कार्यसमितिमा एक कार्यकाल बिताएको व्यक्ति मात्रै अध्यक्षका लागि योग्य हुने व्यवस्था अनुसार पाँचजना अध्यक्षका लागि दौडधुपमा छन् ।
त्यसमध्ये पहिलो हुन संस्थाको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकी सिर्जना शर्मा पण्डित । यसअघि उपाध्यक्षमा निर्वाचित भएकी उनी संस्थाका अध्यक्ष नरेशकुमार खत्री भ्रष्टाचार मुद्दामा मुछिएपछी डेढ वर्षदेखि संस्थाको नेतृत्व शर्माको हातमा छन् । अहिले उनले अध्यक्षको उम्मेदवारी घोषणा पनि गरिसकेकी छिन् ।
दलगत आस्थाका हिसाबले नेकपा माओवादी केन्द्र निकट मानिने शर्मालाई पार्टीले औपचारिक उम्मेदवार भनेर घोषणा समेत गरिसकेको छ । त्यसैअनुरूप उनको दौडधुप सुरु भैसकेको छ ।
दोस्रो हालका सचीव मनिष बलायर पनि संस्थाको अध्यक्ष बन्ने दौडमा छन् । उनले पनि आफ्नो उम्मेदवारी अनौपचारिक रुपमा घोषणा गरिसकेका छन् । यसअघि माओवादी केन्द्रको कोटाबाट सचीवमा निर्वाचित भएका बलायर यतिबेला भने माओवादी केन्द्रले आफ्नो आधिकारिक अध्यक्षको उम्मेदवार शर्मालाई बनाएपछि उनको टिमको टुंगो लागेको छैन । माओवादीकै कोटाबाट दुईपटक संस्थाको कोषाध्यक्ष बनेका विश्राम चौधरी पनि यसपटक अध्यक्ष बन्ने लाइनमा छन् । उनले सार्वजनिक कार्यक्रमहरुमा आफू अध्यक्षमा लड्ने बोल्दै आएका छन् । पछिल्लो समय माओवादी केन्द्र छोडेर नागरिक उन्मुक्ति तिर लागेका उनलाई पार्टीले आधिकारिक उम्मेदवार बनाउन सक्ने सम्भावना छ ।
नेपाली काँग्रेसले संस्थाको अध्यक्षको उम्मेदवार खडक धामीलाई बनाउने तयारी गरेको छ । वर्तमान कार्यसमिति सदस्य रहेका धामी पनि चुनावी मैदानमा सक्रिय भएर लागिसकेका छन् । काँग्रेससँग संस्थाको अध्यक्ष बनाउनको लागि अर्को विकल्पमा पनि कोहि नभएकोले धामी नै काँग्रेसको आधिकारिक उम्मेदवार बन्ने लगभग निश्चित छ ।
उता नेकपा एमालेले सरिता रावल थापालाई अध्यक्षमा ल्याउने तयारी गरेको छ । वर्तमान कार्यसमिति सदस्य रहेकी थापाले अध्यक्षको उम्मेदवार आफू भएको भनेर घोषणा गरिसकेकी छन् । एमालेले आधिकारिक निर्णय गरेर सार्वजनिक भने गरेको छैन ।










