शेयेर गर्नुहोस
टीकापुर ३० साउन/
टीकापुरमा खाना पकाउने एलपी ग्यासको अभाव रहेको अनुगमनले पुष्टि गरेको छ ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सहित कर्मचारी, टीकापुर नगरपालिकाको टोली, नगर प्रहरी, नेपाल प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, टीकापुर उद्योग वाणिज्य संघ लगायत सञ्चारकर्मीहरूको सहभागितामा भएको बजार अनुगमनका क्रममा बजारमा ग्यासको अभाव देखिएको हो । अनुगमनका क्रममा बजार क्षेत्रका अधिकांश ग्यासका डिलरमा ग्यास भेटिएन । केही पसलमा नेपाल आयल निगमको रेकर्डमा शुक्रवार टीकापुरमा ग्यास आएको देखिएको छ । त्यो माग भएको भन्दा झण्डै आधा हो ।
डिलरमा ग्यास पुगेको केही घण्टामै सकिएको व्यापारीको प्रतिक्रिया छ । बम ब्रदर्सका यमबहादुर बमका अनुसार महिनामा चार सय सिलिन्डर बिक्रि हुँदै आएको भए पनि अहिले त्यो माग एकाएक उच्च भएको बताए । ” महिनाको चार सय सिलिन्डर खपत हुन्थ्यो । अहिले माग निकै बढेको छ । आयात निकै कम छ ।” उनले भने, “आएको ग्यास पनि एक डेढ घण्टामा सकिन्छ ।”
त्यसैगरी अर्का बिक्रेता एब्रीला ट्रेडसका सञ्चालक पुष्पराज देवकोटाले उपभोक्ताको माग अस्वभाविक बढेका बेला कम्पनीले कम ग्यास पठाउँदा समस्या भएको बताएका छन् । “मैले महिनामा झण्डै दुई हजार सिलिन्डर बिक्रि गर्दै आएको छु ।” उनले भने, “साउन महिनामा एक हजार ७ सय सिलिन्डर आयात भएको छ ।” उनका अनुसार विगतमा कम्पनीले माग भएजती ग्यास उपलब्ध गराउँदै आएको भए पनि अहिले त्यस्तो स्थिति छैन ।
भेरी ग्यासका बिक्रेता राजेन्द्र चौधरीले ग्यासको माग अस्वभाविक बढेको स्विकार गरे । उनले माग भएअनुसार ग्यास नआउँदा उपभोक्ताको माग पूरा गर्न नसकिएको बताएका छन् । “दैनिक सय भन्दा बढी उपभोक्ताले ग्यासका लागि सम्पर्क गर्छन् ।। केही त निकै समस्या परेर आएका पनि हुन्छन् ।” उनले भने, “पसलमा ग्यास छैन, जतिसुकै समस्या देखाए पनि जे गर्नु ?” उनका अनुसार महिनामा एक हजार पाँच सय सिलिन्डर खपत हुँद आएको छ । अहिले त्यो माग बढे पनि आपूर्ति निकै घटेको हुनको भनाइ छ ।
क्रममा बजारमा ग्यासको उपलब्धता, बिक्री वितरण तथा उपभोक्तालाई परेको समस्याबारे जानकारी लिइएको थियो । ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि भए/नभएको समेत अनुगमन टोलीले निरीक्षण गरेको छ ।
ग्यासका लागि कैयौं उपभोक्ताले हप्ता दिनदेखि नाम टिपाएर पालो कुरेको पनि पाइएको छ । कतिपय पसलमा उपभोक्ता ग्यास आउने सुनेपछि पर्खेर बसेका पनि भेटिए । “ग्यास आउने भनेपछि खाली सिलिन्डर ल्याएर बिहान १० बजेदेखि कुरेर बसेको छु ।” स्थानीय नारायण भण्डारीले भने, “त्यो पनि पाइने नपाइने केही निश्चित छैन ।” अझै भाडामा बस्नेहरुलाई ग्यास नपाउँदा झन समस्या भैरहेको छ ।









