चिसो कारण जनजीवन प्रभावित बन्दै

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २२ माघ/
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ कि सपना भुललाई पुसको महिनाको जाडो कटाउन निकै मुस्किल भएको छ । आर्थिक अवस्था निकै कम्जोर भएको उहाँको परिवार घाम लाग्ने आशामा दिन बिताउन थालेका छन् । मजदुरी गरेर जिविका चलाउँदै आएकी सपना केही दिनदेखि काममा पनि जान सक्नुभएको छैन । “घरका भित्ताबाट चिसो हावा घरभित्र पस्छ । ओढ्ने, ओछ्याने कपडा छैन । लगाउनलाई न्यानो लुगा छैन ।” सपनाले भन्नुभयो, “आगो ताप्नको दाउरा छैन । आफुलाई भन्दा बालबालिकालाई जोगाउन मुस्किल भएको छ ।
टीकापुरकी जानकी रेग्मीलाई पनि चिसो मौसम कटाउन मुस्किल हुन थालेको छ । मजदुरी गरेर गुजारा गर्दै आउनुभएकी रेग्मीलाई यतिबेला के खाने, के लगाउने भन्ने निकै चिन्ता छ । “चिसो बढेपछि काममा जान पाएकी छैन । घरमा लगाउनको लागि न लुगा छन् । न खानको लागि अन्नपात ।” रेग्मीले भन्नुभयो, “आफुलाई जति कष्ट भए पनि सहनसक्ने साहस छ । छोराछोरीलाई सम्झाउन सकिँदैन ।अरुको देखावटी गर्न खोज्छन् ।”
केही दिनदेखि तराईका जिल्लामा चलेको शितलहरका कारण जनजीवन निकै प्रभावित भएको छ । नागरिकहरुको चहलपहल निकै कमभएको छ । विपन्न परिवारहरुका लागि हिउँदको शितलहर निकै कष्टकर बनेको छ । “आगो ताप्नको लागि नत दाउरा पाइन्छ, नत लगाउनको लागि लुगा किन्ने पैसा नै छ ।” स्थानीय दिर्घबहादुर कामी भन्नुहुन्छ, “मागौं को सँग माग्ने ? दिन कटाउन निकै समस्या हुन थालेको छ ।”
उसो त बजार क्षेत्रमा टीकापुर नगरपालिकाले चिसो बढेपछि आगो ताप्ने व्यवस्थाका लागि चोक चौराहमा दाउरा समेत वितरण गरेको छ । बजार क्षेत्रमा दाउरा वितरण गरिएको भएपनि ग्रामीण क्षेत्रमा विपन्न परिवारलाई चिसोले बढी छोएको छ । “हाम्रो स्रोतसाधनले भ्याएसम्म गाउँगाउँम पनि दाउरा वितरण गरेका छौँ । बजार क्षेत्रमा पनि नागरिकहरुलाई आगो ताप्ने व्यवस्था नगरपालिकाले गरेको छ ।” नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले भन्नुभयो, “नागरिकहरूको सहजताको लागि स्थानीय सरकार गम्भीर छ । अब विपन्न परिवारको लागि केही गर्न सकिन्छ कि भनेर हामीले छलफल गरिरहेका छौँ ।”
चिसोका कारण बालबालिका र जेष्ठ नागरिकहरु बढी समस्यामा परेका छन् । बालबालिकालाई बिधालय जान समेत समस्या हुन थालेको छ । यतिबेला बिधालयमा अर्धवार्षिक परिक्षा चलिरहेका कारणले पनि बालबालिकालाई बिधालय पुग्नुपर्ने बाध्यता रहेको छ । “चिसो बढ्यो । बिधालयमा परिक्षा चलिरहेको छ । अहिले बिधालय बन्द गर्ने स्थिति छैन ।” नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले भन्नुभयो, “स्थिति यस्तै रह्यो भने परिक्षा सकेर बिधालय बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । अहिले नि बिधालय बन्द हुन्छन् भन्ने स्थिति छैन ।”
चिसो बढेपछि दिनभर व्यवसाय गरेर दैनिक गुजारा गर्दै आउनुभएका हरि चौधरीको दैनिकी खाली बित्न थालेको छ । बजारमा सामान्य रिपेरिङको पसल चलाउँदै आउनुभएका चौधरीको आजभोलि पसल खोल्ने र बन्द गर्ने काम मात्रै हुनथालेको छ । “एक हप्ता भयो एउटा पनि काम आएको छैन । घर गुजाराको लागि साथीहरूसँग सापटी लिएर जेनतेन जोहो गरिरहेको छु ।” चौधरीले भन्नुभयो, “काम छैन । दिन कटाउन मुस्किल हुन्छ । ग्राहकको पर्खाइमा दिन बित्छ तर कोहि फिर्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *