चौपाया सडकमा ग्यास प्लान्ट अलपत्र

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १० भदौ/
कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायो ग्यास प्लान्ट निर्माण गरेको छ । सामुदायिक पशु चौपायाका कारण किसानहरू निकै आजित भएपछि त्यसको व्यवस्थापन र त्यसबाट उत्पादन पनि गर्ने उद्देश्यले बायो ग्यास प्लान्ट निर्माण गरेको हो । ग्यास प्लान्ट निर्माण भएको महिनौं हुँदा पनि प्लान्ट सञ्चालनमा आउन नसक्दा त्यसको हैरानी किसानहरुले खेपेका छन् ।
स्थानीयको समस्या समाधानको लागि स्थानिय पालिकाले सामुदायिक चौपाया व्यवस्थापनमा । धेरै प्रयत्न गरे पनि ती प्रयत्नहरुले सार्थकता पाउन सकेनन् । ती गरेका प्रयत्न सफल हुन नसकेपछि स्थानीय सरकारले पनि सामुदायिक चौपाया व्यवस्थापन गर्न सकेनन्, किसानलाई मात्रै नभई सडकमा सवारीसाधन चलाउनेलाई पनि त्यति नै चुनौती बढ्दै गयो । “दिउँसोको भन्दा बढी जोखिम सवारी चलाउन राती छ ।” बस चालक सुमन चौधरीले भन्नुभयो, “सडकको बिचमा आएर बसेका हुन्छन् । कतिपय ठाउँमा राम्रोसँग नदेखिँदा ठूलो दुर्घटना हुने जोखिम छ ।” बायो ग्यास प्लान्ट निर्माण भएपछि बजारका चौपाया व्यवस्थापन हुने विश्वास आफुहरुको रहेको बताउँदै सुमनले यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह समेत गर्नुभएको छ ।
चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा नगरपालिकाले चौपायाको गोबरबाट बायो ग्यास उत्पादन गरेर स्थानीय विपन्न परिवारलाई वितरण गर्ने भनेपनी प्लान्ट निर्माण भएको महिनौ भैसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । “प्लान्टको सम्पुर्ण काम सम्पन्न भएर स्थानीयको घरघरसम्म पाइप लाइन जडानको काम समेत भएको महिनौं भयो । अझै सञ्चालनको कुनै सुरसार देखिएको छैन ।” स्थानीय बलबहादुर विकले भन्नुभयो, “ग्यास प्लान्ट सञ्चालनमा आउन सकेको भए स्थानीयलाई राहत हुने थियो ।”
दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेपछि आसपासका स्थानीयले दाउराको लागि गर्दै आएको वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाले गरेको छ । बायो ग्यास उत्पादनका लागि सामुदायिक चौपायाको व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुने भएपछि किसानहरू खुसी देखिए पनि प्लान्ट छिटो सञ्चालनमा आउनुपर्ने स्थानीय मनोज चौधरी बताउनुभयो । बनेको संरचना प्रयोगमा आउनुपर्यो । बजार क्षेत्रका सामुदायिक चौपायाको व्यवस्थापन हुनुपर्यो भन्ने मात्रै हो ।” उहाँले भन्नुभयो, “यस्तै प्रयोगविहीन अवस्थामा रह्यो भने निर्माण भएको संरक्षण जिर्ण बजेर जानेमा पनि नगरपालिकाले समयमै सोच्नुपर्छ ।”
एक करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल उर्जा विकास कम्पनीले पाएको थियो । आर्थिक वर्ष २०७६/०७७ भदौबाट सुरु भएको थियो । आयोजनाको काम निर्माण कम्पनीले नगरपालिका र वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको संयुक्त लगानिमा बायो ग्यास प्लान्ट निर्माण भएको हो । ५५ घरधुरीलाई नगरपालिकाले खाना पकाउनको लागि उक्त बायो ग्यास नागरिकहरुको घरघरमा पुर्याएको छ । नगरपालिकाका इन्जिनियर नवराज जोशिले यसबाट नगरपालिका भित्रका सामुदायिक चौपाया व्यवस्थापन सँगै स्थानीयले ग्यास प्राप्त गर्नुको साथै खेतको लागि प्राङारिक मल समेत उत्पादन हुने बताउनुभएको छ ।
नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै फोहोरको व्यवस्थापन गर्ने तयारी समेत गरेको छ । बजार क्षेत्रबाट संकलन भएको सडने फोहोरलाई ग्यास उत्पादनमा प्रयोग गर्ने र त्यसबाट प्रशोधन भएको बाँकी बस्तुलाई मल बनाएर किसानलाई सहुलियतमा वितरण गर्ने योजना रहेको नगरपालिका नगर प्रमुख रामलाल डगौंरा थारुले बताउनुभएको छ । उहाँले निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण नगरेका कारण सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । “अब प्लान्टबाट ग्यास उत्पादन सँगसँगै प्राङ्गारिक मल उत्पादन पनि हुने छ । ग्यासको लागि चौपायाको बढी भन्दा बढी आवश्यकता पर्ने भएकोले त्यसलाई रोजगारीसँग जोडेर गाईहरुबाट उत्पादन भएको दुध लगायतका बस्तुको बजारीकरणका लागि डेरि सञ्चालनको सोच बनाएका छौं ।” नगर प्रमुख थारुले भन्नुभयो, “एकातिर चौपाया व्यवस्थापन पनि हुने र अर्कोतिर विपन्न परिवारले सहुलियतमा ग्यास पाउने भएकोले पनि यो आयोजनालाई नगरपालिकाले विशेष महत्त्वका साथ लिएको छ ।”
नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले चौपायाको विकल्प पनि सोचेर बायो ग्यास सञ्चालन गर्नुपर्ने भएका कारण ढिलाइ भएको बताउनुभएको छ । “सामुदायिक चौपायाको समस्या सधै नरहनसक्छ । भोलि चौपाया नै यसरी नरहने अवस्था आउँदा करोडौंको लागतमा निर्माण भएको संरचनाको अवस्था के हुन्छ ?” नगर उपप्रमुख शाहले भन्नुभयो, “सोही क्षेत्रमा वृहत् फोहोर व्यवस्थापन कार्यक्रमका लागि प्रदेश सरकारसँग छलफल भैरहेको छ । त्यो छलफलले पुर्णता पाएपछि फोहोरलाई व्यवस्थापन गरेर बयो ग्यास प्लान्टलाई दीर्घकालीन रुपमा अगाडि बढाउन सकिने छ “
नगरपालिका भित्रका सामुदायिक चौपायाहरुलाई वडा नं. २ को खोटेना भिराखानी सामुदायिक वनमा व्यवस्थापन गरिँदै आएको छ, सोही ठाउँमा बायो ग्यास प्लान्ट निर्माण गरेको छ । गौशालामा भएका चौपायाको अवस्था निकै नाजुक पनि छ । आहारको अभावमा दैनिक चौपाया मरिरहेका छन् । नगरपालिकाले चौपाया व्यवस्थापनका लागि बर्सेनि १५ देखि २० लाख बजेट खर्च गर्दै आएको छ । चालू आर्थिक वर्षमा पनि सामुदायिक चौपाया व्यवस्थापनको लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *