शेयेर गर्नुहोस
टीकापुर १५ पुस /
जेसीजमा संलग्न व्यक्ति हरेक क्षेत्रमा सफल भएको टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्राध्यापक डा जगतबहादुर सिंह रावलले बताएका छन् ।
जेसीज वर्ष २०२४ का अध्यक्ष रुपक बहादुर बिष्टको अध्यक्षतामा भएको टीकापुर जेसीजको २७ औं शाखा अधिवेशन तथा वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै प्राध्यापक डा रावलले जेसीजमा लागेको व्यक्ति सामाजिक क्षेत्रमा सफल हुने गरेको बताएका हुन । उनले जेसीजलाई विश्वविद्यालयको रुपमा लिएर सिकाई गरेर समाजमा फर्केका युवाहरू व्यावसायिक, आर्थिक तथा अन्य गतिविधिमा सफल भएका कैयौं उदाहरण रहेको बताएका छन् । “जेसीज विश्वविद्यालय हो । यहाँ नेतृत्व, व्यक्तित्व, व्यावसायिक सीप विकासका गतिविधि हुने गर्छन् । त्यो सिकाईले जेसीजमा लागेका सबै सफल छन् ।” उनले भने, त्यसकारण युवाहरू जेसीजमा लाग्नुपर्छ । जहाँबाट सकारात्मक सिकाइ सिकेर युवा समाजमा जानुपर्छ ।”
उनले केही समय पहिले जेसीजमा निकै आकर्षण बढेको बताउँदै त्यसलाई बिस्तारै हराएको बताएका छन् । डा रावलले युवालाई जेसीजमा जोड्दै अगाडि बढ्न सुझाव दिएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले स्थानीय सरकारसँग जेसीजलाई जोडेर लिन नसकिएको बताएका छन् । “स्थानीय सरकारसँग जेसीज अर्थात समाजमा महत्त्वपूर्ण अर्थ राख्ने युवा सँगै हुनुपर्छ ।” उनले भने, “हामी बिचमा समन्वय र सहकार्य हुन सकेको छैन । त्यो समन्वय र सहकार्य हुनुपर्छ ।” अहिले पनि जेसीजले युवाहरूलाई संगठित गर्न नसकेको बताउँदै उनले जेसीजलाई हुने खाने युवाहरूको संस्था हो भन्ने मानसिकतालाई चिर्न आवश्यक रहेको बताएका छन् ।
टीकापुर जेसीजका पुर्व अध्यक्ष टेकराज रेग्मीले जेसीजले विधीको शासनलाई अवलम्बन गर्दै आएको बताउँदै सामाजिक क्षेत्रमा अगुवाइ गर्नेहरुका लागि जेसीजको नेतृत्व सफल हुने बताएका छन् । पुर्व अध्यक्ष राजकुमार हमालले देशमै टीकापुर जेसीज स्थापित शाखाको रुपमा रहेको बताएका छन् । उनले सामाजिक क्षेत्रमा पनि जेसीजले सकारात्मक माया पाएको बताउँदै असल समाज निर्माण गर्नको लागि असल नेतृत्व जेसीजले जन्माउने गरेको बताएका छन् । कार्यक्रममा पुर्व अध्यक्ष टेकनारायण पौडेल, लालकेश जैशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत टीकापुर जेसीजका उपाध्यक्ष टेकेन्द्र सिंह विष्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए ।










