तोडफोड पछिको मर्मतसम्भारमा लाखौं खर्च हुँदै

शेयेर गर्नुहोस


टीकापुर १४ फागुन/
टीकापुर नगरपालिकाको प्रशासकीय भवनमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फुटाएका सिसा फेर्न मात्रै १५ लाख खर्च हुने भएको छ ।
भदौ २४ गते जेनजी समुहले नगरपालिकाको प्रशासकीय भवनका फुटाएका सिसा फेर्न मात्रै झन्डै १५ लाख खर्च हुन लागेको हो । आन्दोलनका क्रममा भएको तोडफोडबाट नगरपालिकामा झण्डै ६६ लाख बराबरको क्षति भएको थियो । त्यसमध्ये भवनको बाहिरी सिसा फेर्न र भित्री पार्टेशन गर्न ३० लाखको टेन्डर सम्झौता मार्फत काम सुरु गरिएको छ ।
बजेट अभावका कारण एकैपटक टेन्डर आव्हान गरेर काम गर्न नसकिने भएपछि तत्काल सिसा र तोडफोड भएको भित्री पार्टेशनलाई मर्मतसम्भार गर्न ३० लाख बजेटको सुनिश्चितता गरी काम अगाडि बढाइएको नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले जानकारी दिएका छन् । “झ्यालको सिसा, भित्री पार्टेशन, भवनसँगै जोडेर राजश्व र पञ्जिकरण सेवाको लागि ट्रस्ट निर्माण र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष निर्माणको काम भैरहेको छ ।” उनले भने, “उक्त काम ३० लाखको लागतमा तोया कन्स्ट्रक्सनले गरिरहेको छ ।”
नगरपालिकाले अन्य उपकरण खरिदका लागि ५२ लाखको टेन्डर आव्हान गर्न लागेको छ । त्यसमा केही उपकरण जेनजी समुहको आन्दोलनका क्रममा तोडफोड भएका छन् भने केही शाखागत रुपमा भएको मागका आधारमा खरिद हुनेछन् । “धेरै उपकरण आन्दोलनका क्रममा नष्ट भएका खरिद गरिँदैछन ।” उनले भने, “केही उपकरण शाखाको मागका आधारमा खरिद गर्दैछौं । तर, शाखागत रुपमा माग भएर आएका उपकरणहरु पनि अधिकांश आन्दोलनका क्रममा नष्ट भएका सामाग्री छन् ।”
उसो त सवारीसाधनमा भएको आगजनी सहितको क्षति जोड्दा करोडौंको क्षति नगरपालिकाले बेहोर्नु परेको थियो । “आन्दोलन स्वभाविक थियो होला । त्यो बेलाको माग थियो होला ।” स्थानीय भोजराज उपाध्याय भन्छन्, “आज त्यो लाखौं रकम मर्मतसम्भारमा खर्च गर्नुको साटो अन्य विकासमा खर्च गरेको भए त्यो विकास हाम्रै हुन्थ्यो ।” जनताले तिरेको करबाट बनेका संरचना जनताले नै तोडफोड गरेर पुनः जनताकै पैसाबाट बन्न थालेको बताउँदै त्यसले विकासलाई झन पर धकेलेको उनको भनाई छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *