शेयेर गर्नुहोस
टीकापुर १५ चैत /
कृषक स्तरीय पशुपालन व्यवस्थापनका लागि बाख्रा पालन सम्बन्धि दुईदिने तालिम सम्पन्न भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अतरिया कैलालीको सहयोग तथा उन्नत साना किसान कृषि सहकारी संस्था लिमिटेड टीकापुरको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष लालबहादुर साउँदको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा टीकापुर नगरपालिकाकी आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले सहकारीबाट सदस्यहरुले व्यावसायिक रुपमा लिएको ऋण व्यवसाय भन्दा अन्य कार्यमा लगाउने गरेको बताएकी छन् ।
“एउटा प्रयोजनका लागि लगेको ऋण अर्को प्रयोजनमा खर्च गर्दा हामीलाई समस्या हुने गरेको छ ।” उनले भनिन्, “जुन प्रयोजनका लागि ऋण लिइएको हो त्यसैमा खर्च गर्न सक्यो भने त्यसबाट आम्दानी गर्न सकिन्छ ।” उनले बाख्रा पालनलाई व्यावसायिक बनाउन सक्यो भने त्यसबाट मनग्ये आम्दानी गर्न सकिने बताइन । साना किनानले साना किसानलाई लक्षित गरेर लगानी गर्दै आएको बताउँदै आचार्यले त्यसलाई सहि ठाँउमा सदुपयोग गर्दै सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरिन ।
तालिमका प्रशिक्षक तथा नगरपालिका पशु सेवा शाखाका प्रमुख श्यामराज पाण्डेले सिकेको सीपलाई प्रयोगमा ल्याउनु महत्त्वपूर्ण विषय भएको बताएका छन् । उनले व्यावसायिक काम गर्दै जाँदा नगरपालिकाले पनि हरेक क्षेत्रमा परामर्श दिन सक्ने बताउँदै त्यसका लागि समन्वय गर्न आग्रह गरेका छन् । साथै पाण्डेले सीप अरुलाई बाढ्दा झन आर्जन गर्न सकिने भन्दै अन्य स्थानीयलाई पनि सिकाउन आग्रह गरेका छन् ।
सहकारीको कार्यक्षेत्र भित्रका ३० जनाको सहभागिता रहेको उक्त तालिममा सहभागी सुजिता साउँदले तालिमले व्यावसायिक रुपमा बाख्रा पालन गर्न सक्ने उर्जा उत्पन्न भएको बताइन । उनले बाख्रा पालन गर्दा आवश्यक ज्ञान तालिमले दिएको बताएकी छन् । अर्का सहभागी सगरातु चौधरीले आफुले बाख्रा पालन गर्दै आएको भए पनि बाख्राको जात तालिम पछि मात्रै थाहा पाएको बताएका छन् ।
सहकारीका उपाध्यक्ष देवानन्द रिमालले स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक कमलबहादुर ठकुल्लाले गरेका थिए ।










