दुना टपरीबाट राम्रो आम्दानी गर्नुहुन्छ खिमा दम्पती

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी १८ चैत /
महिलाहरू घरायसी काममा मात्रै सिमित हुनुपर्छ भन्ने कुरालाई चिर्दै महिला व्यवसायमा पनि सक्षम छन् भन्नेमा भजनी नगरपालिका वडा नं. ९ की खिमादेवी धामी एक उदाहरण हुनुहुन्छ । सुरुवाती दिनमा घरायसी काममा व्यस्त खिमादेवी चार वर्षदेखि उद्योगमा जोडिनुभएको छ ।
चार वर्ष पहिले पाँच लाख खर्च गरेर स्थापना गरेको महुन्याल दुना टपरी उद्योगले खिमादेवीलाई घरायसी कामभन्दा उद्योगको काममा भ्याइनभ्याई छ । उहाँलाई कामको मात्रै होइन, आम्दानीको हिसाबले पनि राम्रो हुँदै गएको छ । घरमै बसेर मासिक ४० हजार भन्दा बढी आम्दानी खिमाले गर्दै आउनुभएको छ । नगरपालिकाको वडा नं.१ भजनी बजारमा सालको पातबाट दुना र टपरी बनाउने उद्योग सञ्चालन गर्नुभएकी खिमाले गाउँका महिलाहरूलाई पनि रोजगारीमा जोड्नुभएको छ ।
“गोठाला गएकाहरु, गाउँमा फुर्सदमा भएका महिलाहरू दिनभर सामुदायिक वनमा गएर पात टिप्नुहुन्छ । त्यो पात हामीले खरिद गर्छौं ।” खिमा भन्नुहुन्छ, “प्रती केजी ३५ देखि ४० रुपैयाँमा खरिद गर्ने पात एउटै व्याक्तिले एक हजार भन्दा भन्दा बढीको ल्याएर आउनुहुँन्छ ।” गाउँका महिलाहरूले पनि घरायसी कामको अतिरिक्त समयको सदुपयोग गर्न पाएका छन् । उद्योगले महिलाहरूलाई प्रत्यक्ष सहयोग मिलेको महिलाहरू बताउँछन् ।
भजनी नगरपालिका वडा नं. ९ की तारा देवि पुनमगर खिमाले उद्योग सञ्चालनमा ल्याएपछि घरमै रोजगारी आएको अनुभुती गर्नुहुन्छ । दैनिक घाँस दाउरा, गाई वस्तु चराउनका लागि जंगल पुग्नुपर्ने तारा देवि अहिले दुई काम सँगै गर्नुहुन्छ । घरायसी कामसँगै सालका पात टिपेर पैसा आउन थालेपछि तारा देविको घरको सानोतिनो खर्च टार्ने माध्यम खिमाको उद्योग बनेको छ । “घाँस दाउरा, मेलापात गर्दै उमेरले डाडो काट्न लाग्दा जंगलमा कुहिएर खेर जाने सालको पात टिपेर पैसा कमाई होला भन्ने सोचेकै थिएन ।” उहाँ भन्नुहुन्छ, “आज त्यहीँ सालको पातले घरको खर्च टारेको छ । सानोतिनो रकमका लागि अरुसँग माग्नुपरेको छैन ।” तारा देवि जस्तै वडा नं. ९ का मटेरी टोलका अधिकांशले सालको पात संकलनको काम गर्दै आएका छन् ।
स्थानीय क्षेत्रमा प्रशस्त पाइने त्यो पनि खेर गैरहेको वस्तुबाट आम्दानीसँग जोड्नुभएकी खिमालाई उद्योग सञ्चालनको सुरुवातमा बजारीकरणको समस्या भएपनि अहिले बजारको मागलाई भ्याउन सक्नुभएको छैन । उहाँले हप्ताको शनिबार स्थानीयले संकलन गरेको पात खरिद गर्दै आउनुभएको छ । हप्तामा २० देखि २५ हजारसम्मको सालको पात खरिद गर्दै आएको उहाँ बताउनुहुँन्छ । “कैलालीका विभिन्न क्षेत्र हुँदै बर्दिया लगायत काठमाडौंसम्म उत्पादन भएको दुना टपरी जाने गरेको छ । उत्पादन भएको वस्तुका लागि बजार पर्खनु पर्ने स्थिति छैन ।” उहाँ भन्नुहुन्छ, “उत्पादनको मात्रा बढाउन नसक्दा बजारको मागलाई धान्न मुस्किल भएको छ ।” उसो त उद्योगमा दैनिक तीन हजार भन्दा बढी टपरी उत्पादन हुन्छ । करिब ६ हजार दुना उत्पादन हुन्छन् । विभिन्न ९ साइजमा दुना र टपरी उत्पादन हुँदै आएका छन् ।
उत्पादन भएको वस्तुको बजारीकरणमा खिमाका श्रीमान होमबहादुर बोहराले साथ दिनुभएको छ । उहाँले स्थानीय बजार हुँदै बाह्य बजारसम्म उत्पादन भएको वस्तु पुर्याउने काम गर्दै आउनुभएको छ । “श्रीमतीले उद्योग भित्रको काम हेर्छिन । मैले बजारको काम हेर्ने गरेको छु ।” होमबहादुर भन्नुहुन्छ, “श्रीमान श्रीमती दुबै जना सबै क्षेत्र छोडेर उद्योगलाई अझै स्थापित गर्दै लैजाने तर्फ लागिरहेका छौं ।” पछिल्लो समय स्थानीय तह प्लास्टिक निषेधित क्षेत्र घोषणा हुँदै जाँदा पातबाट बनेका वस्तुको माग अत्याधिक बढेको होमबहादुरको भनाइ छ । नेपालबाट मात्रै नभई छिमेकी मुलुक भारतका स्थानीय व्यापारीहरुबाट पनि वस्तुको माग भैरहेको उहाँले बताउनुभयो ।
कुनै समय साथीभाइहरुको वैदेशिक रोजगारीले लोभ्याएर वैदेशिक रोजगारीको तयारीमा लाग्नुभएका होमबहादुर विदेशको नाम पनि चाहानुहुन्न । “आफ्ना अगाडि सम्भावनाहरु हुँदाहुँदै पनि त्यसको पहिचान गर्न नसक्दा अरुले गरिरहेको बाटोमा हिड्नुपर्ने बाध्यता हुँदो रहेछ । जुन बाटो मैले पनि लहलहैमा रोजिसकेको थिए ।” होमबहादुरले सुनाउनुभयो, “समयले मलाई यतै केही गर्नुपर्छ भनेर रोक्यो । जसमा श्रीमतीको साथ अनि आत्मविश्वासले मलाई नेपालमै केही गर्नुपर्छ भन्ने कुरा सिकायो । जसबाट म अनि मेरो परिवार सन्तुष्ट छ ।”
दुना टपरी तयार हुने मेसिनबाट चप्पल समेत तयार गर्ने गरिएको छ । दुना टपरीको माग कम भएको समयमा उहाँहरुले सोही उद्योगबाट चप्पल तयार गरेर बिक्री समेत गर्दै आउनुभएको छ । चालू आर्थिक वर्षमा उहाँले घरेलु तथा साना उद्योग कार्यालयबाट “एक उद्योग, एक निर्वाचन क्षेत्र” कार्यक्रम अन्तर्गत अर्को मेसिनको लागि अनुदान पाउनुभएको छ । २० प्रतिशत लागत सहभागिता रहेको उक्त कार्यक्रमबाट प्राप्त मेसिन आएपछि उद्योगको आकार बढ्ने र बजारको मागलाई थप पुर्ती गर्न सकिने खिमाको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *