पाँच बिधालयका २५ जना बिद्यार्थीलाई सहयोग

शेयेर गर्नुहोस


टीकापुर ०८ फागुन /
मालिका देवि कृपा फाउण्डेशनले पाँच बिधालयका २५ जना बिद्यार्थीलाई बिधालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी अन्तर्गत संचालित मुनाफा रहित फाउण्डेशनले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई बिधालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको हो । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै टीकापुर स्थित कर्णाली माद्यामिक बिधालय, खड्ग स्मृति माद्यामिक बिधालय, जानकी गाउँपालिका स्थित भृकुटी माद्यामिक बिधालय सुवर्णपुर, राष्ट्रिय माद्यामिक बिधालय अमौरा र लम्कीचुहा नगरपालिका भित्रको राष्ट्रिय माद्यामिक बिधालय बलचौरमा अध्ययनरत पाँचपाँच जना बिद्यार्थीका दरले २५ जनालाई बिधालयको दुई जोड पोशाक, झोला, एक जोड जुत्ता लगायत अन्य शैक्षिक सामाग्री सहित स्कुल पोशाक सिलाउनको लागि प्रती विद्यार्थी पाँच सयका दरले नगद वितरण गरिएको छ ।
मालिका देवि कृपा फाउण्डेशन शिक्षा उपशाखा संयोजक धर्मराज शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कैलाली क्षेत्र नं. १ का पुर्व प्रतिनिधि सभा सदस्य रेशम चौधरीले विश्वका ठुला विद्वानको पृष्ठभुमि हेर्दा गरिब परिवारबाट नै सुरु भएको बताउँदै संघर्षलाई आत्मसात गर्न सक्ने व्यक्ति हरेक क्षेत्रमा सफल हुने बताएका छन् । “ठूलो कुरा संघर्ष हो । संघर्ष गर्न जानेको व्यक्ति सधैं लक्ष्यमा पुग्छ ।” उनले भने, “विश्वमा नाम कमाएका व्यक्तिहरु पनि आफ्नो संघर्षबाट चिनिएका हुन । त्यसैले सफलताको प्रमुख आधार संघर्ष हो ।”
आफुलाई कसरी उत्कृष्ट भित्रको उत्कृष्ट बनाउने भन्नेमा प्रयत्नशील भइरहनु पर्नेमा जोड दिँदै चौधरीले जीवनको सुरुवात देखि नै सुखको बाटो खोज्न थाल्यो भने त्यहाँ सफलता हासिल गर्न कठिन हुने बताए । “जहाँ अभाव हुन्छ, त्यहाँ सम्भावना हुन्छ ।” पुर्व प्रतिनिधि सभा सदस्य चौधरीले भने, “मैले जेल बस्दा त्यहीँ अभावमा राजनीतिक दलको स्थापना गरे, अनि १३ वटा किताब लेखे ।” उनले फाउण्डेशनको नाम बेचेर कतिपयले आम्दानीको स्रोत जुटाउने काम पनि गरेको भन्दै मालिका ग्रुपले आफ्नो आम्दानीको केही अंश सामाजिक क्षेत्रमा लगानी गरेकोमा धन्यवाद पनि व्यक्त गरे ।
कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले समाजमा बस्ने हरेक नागरिकले समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै मालिका देवि कृपा फाउण्डेशनले समाजप्रतिको आफ्नो उत्तरदायित्व पूरा गर्ने काम गरेको बताएका छन् । त्यस्तै फाउण्डेशनका अध्यक्ष टीकाराम जैशीले फाउण्डेशनले तीन क्षेत्र स्वास्थ्य, शिक्षा र खेलकुदमा सहयोग गर्दै आएको बताएका छन् । उनले शिक्षा क्षेत्रको कार्यक्रमलाई आगामी वर्ष अझै फराकिलो बनाएर १० वटा बिधालयलाई समावेश गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजमा राम्रो काम गर्नेहरूका अगाडि सहयोगी हातहरुको अभाव नहुने पनि जैशीले बताए ।
कार्यक्रममा खड्ग स्मृति माद्यामिक बिधालयका प्रधानाध्यापक केशरबहादुर रावल, राष्ट्रिय माद्यामिक बिधालय अमौराका प्रधानाध्यापक कलम खड्का, पत्रकार रमेश बजगाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । फाउण्डेशनका उपाध्यक्ष तथा लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा उपशाखाका सदस्य धर्मराज जोशीले गरेका थिए ।
फाउण्डेशनले फोहोर व्यवस्थापनका लागि उत्पादन गरेका वस्तुहरुको बिक्रीबाट हुने फाइदा रकमबाट र मालिका ग्रुपका अन्य व्यवसायबाट आउने सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट उक्त विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *