शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी ११ असार /
भजनी नगरपालिकामा सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका करिब पाँच सय घरटहरा भत्काइएको छ ।
भजनी नगरपालिका वडा नं. १ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका करिब पाँच सय घरटहरा सोमबार भत्काइएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घरटहरा भत्काएको हो । वर्षातका बेला घर डुबान परे भनेर केही दिनलाई बस्न आएकाहरूले क्रमश वन क्षेत्रमा घर टहरा निर्माण गरेर बसोबास गर्न थालेपछि बल प्रयोग गरेर हटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिएका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख रामविचारी चौधरीको नेतृत्वमा घरटहरा भत्काउन थालिएको हो । बर्सेनि बाढी र डुवानका कारण प्रभावित भएर ओभानो खोज्दै महुन्याल, वनदेवी, पशुपति सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बसेका स्थानीयलाई सो क्षेत्रबाट हटाइएको हो । नगरपालिकाको वडा नं.३, ५, ७, ८ र ९ का बासिन्दाहरू बाढीपीडित भन्दै बस्न आएका थिए ।
पटकपटक सामुदायिक वनले आफ्नो मातहतको जग्गा खाली गराउन सूचना आव्हान लगायत सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराउँदै आएको थियो । आफुहरु बर्सेनि बाढी र डुवानका कारण समस्यामा पर्दै आएकोले राज्यले दीर्घकालीन समाधान नखोजेसम्म सामुदायिक वन क्षेत्रको उच्चो जमिन नछोड्ने अडानमा बाडिपिडित थिए । कैयौंपटक हटाउने प्रयास हुँदा पनि हटाउन नसकिएको सो क्षेत्रका नागरिकहरू राजनीतिक आडमा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बसेको भन्ने थियो ।










