राहत सामाग्री सहयोगका लागि नगरपालिकाको आव्हान

शेयेर गर्नुहोस


भजनी ०४ असोज /
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले केही दिन अगाडिको बाढी र डुवानबाट विस्थापित भएका परिवारलाई राहतका लागि सहयोगको आव्हान गरेका छन् ।
मंगलबार नगरपालिकाले आयोजना गरेको सरोकारवालाहरुसँगको छलफलमा प्राकृतिक विपत्तिको समयमा नगरपालिका एकलैले सबै गर्न नसक्ने भन्दै सबै क्षेत्रबाट सहयोगको लागि आग्रह गरेका हुन । उनले संघ र प्रदेश सरकारबाट दीर्घकालीन योजनमा सहयोग गरि नदी नियन्त्रणका लागि अपिल समेत गरेका छन् । “भजनीका लागि बाढी र डुवान बर्सेनिको समस्या हो । यसपटक राहत र उद्दार गरेर समस्या समाधान हुन सक्दैन ।” नगर प्रमुख चौधरीले भने, “भजनीलाई दीर्घकालीन योजना चाहिएको छ । नदी नियन्त्रण हुन सकेपछि मात्रै भजनीको समस्या समाधान हुनसक्छ ।”
छलफल कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले विपत्तिको समयमा राजनीति आस्था भन्दा माथी उठेर आआफ्नो ठाउँबाट सहयोग र समन्वय गर्न आग्रह गर्दै तत्कालका लागि प्रदेश सरकारले विस्थापितलाई राहतको प्याकेज ल्याएको बताएका छन् । उनले घरबार बिहिन भएका परिवारलाई ५० हजार रुपैयाँ, मृतकका परिवारलाई एक लाख २० हजार रुपैयाँ र अन्यलाई क्षतिको आधारमा आवश्यक सहयोगको लागि निर्णय भैसकेको बताउँदै वास्तविक पिडितहरुको तथ्यांक संकलन गरेर समन्वय गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।
“प्रदेश सरकारको स्रोतले भ्याउने काममा हामी निकै गम्भीर छौं । भजनीको समस्या समाधानका लागि तीन तहको सरकारले संयुक्त योजनाका साथ काम गर्नुपर्ने देखिएको छ ।” मन्त्री रावलले भने, “तपाईं योजना बनाउनुहोस, प्रदेश सरकारले कहाँ कस्तो भुमिका खेल्नुपर्छ त्यसको लागि हामी तयार छौं । दीर्घकालीन योजनाका साथ अगाडि बढौं ।” सुदुरपश्चिम प्रदेशका सांसद बिरमान चौधरीले बाढीका कारण भजनीको जनजीवन सामान्य बन्न अझै महिना दिन लाग्ने बताउँदै स्थानीयलाई बाढीले भिजाएको खाद्यान्न सुकाउनको लागि त्रीपालको निकै आवश्यक देखिएको बताएका छन् ।
“अवस्था अझै अस्तव्यस्त छ । सडक सम्पर्क टुटेको छ । नागरिकहरुको सबै धनमाल बगेको छ त केही भिजेर काम नलाग्ने भएको च ।” सांसद चौधरीले भने, “स्थलगत अनुगमन गर्न सक्ने अवस्था छैन । तर पनि नागरिकहरु राहतको भन्दा पनि बाढीको दीर्घकालीन समाधान चाहान्छन ।” चाडपर्वको समय नजिकिँदै गर्दा घरमा भएको अन्नपात सबै बाढीमा विलय भएपछि अहिले खाने कुरा देखि चाडपर्व कसरी मनाउने भन्ने चिन्तामा विस्थापित रहेको सांसद चौधरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *