शेयेर गर्नुहोस
भजनी २७ वैशाख /
भजनी नगरपालिका वडा नं.५ मा रहेको कर्मेश्वर माद्यामिक बिधालय कुटीमा बिद्यार्थीबाट शुल्क उठाउने विषयमा विवाद हुँदा प्रधानाध्यापकले आफू माथी हातपात भएको आरोप लगाएका छन् ।
वैशाख १८ गते बिद्यार्थीबाट बिधालय सहयोग शुल्क उठाउने विषयमा छलफल हुँदा त्यो छलफल विवादमा परिणत भएपछि बिधालय व्यवस्थापन समितिका सदस्य संजय सकसेनाले आफुमाथी हातपात गरेको प्रधानाध्यापक लीलाराम विश्वकर्माले आरोप लगाएका हुन । खासगरी माद्यामिक तहमा नगर अनुदानबाट व्यवस्थापन भएका शिक्षकहरुलाई र कार्यालय सहयोगीलाई तलबभत्ता उपलब्ध गराउनका लागि विद्यार्थीबाट सहयोग शुल्क बापत केही रकम बिधालयले उठाउँदै आएको पाइएको छ ।
भजनी नगरपालिकाले बिद्यार्थी तथा अभिभावकबाट कुनै पनि बाहनामा शुल्क लिन नपाइने व्यवस्था गरेको छ । नीतिगत निर्णय गरेको नगरपालिकाले बिधालयको आन्तरिक खर्च व्यवस्थापन तथा निजि स्रोतबाट व्यवस्थापन गरिएका शिक्षक तथा कर्मचारीको विषयमा भने अझै बोल्न सकेको छैन । नगरपालिकाले नगर अनुदान मार्फत नियुक्ति दिएका शिक्षकलाई प्राथमिक तहकालाई २५ हजार पाँच सय, निमावि तहलाई २६ हजार पाँच सय र माद्यामिक तहलाई २७ हजार पाँच सय तलबभत्ता उपलब्ध गराउँदै आएको छ ।
कर्मेश्वर माद्यामिक बिधालयले त्यसैमा निमावि तहलाई १३ हजार दुई सय ३० रुपैयाँ, माद्यामिक तहलाई २१ हजार एक सय ७९ रुपैयाँ थप गरेर तलबभत्ता दिँदै आएको प्रधानाध्यापक विश्वकर्माले जानकारी दिए । “उहाँहरुलाई थप गरेर अरु शिक्षक सरहको तलबभत्ता दिनुपर्ने र कार्यालय सहायकलाई मासिक ३५ हजार तलबभत्ता दिँदा वार्षिक २१ लाख बजेट बिधालयलाई चाहिन्छ ।” उनले भने, “नगरपालिकाले दिएको सुविधाले अङ्ग्रेजी, गणित र बिज्ञान अध्यापन गराउने शिक्षक बस्न मान्दैनन् । त्यसो हुँदा बिद्यार्थीको पठनपाठन बिग्रने सम्भावना हुन्छ ।”
बिधालयले सहयोग शुल्क बापत केही बिद्यार्थीबाट उठाएको शुल्क बिधालयले फिर्ता गर्ने प्रधानाध्यापक विश्वकर्माले बताए । आर्थिक कारणले बिधालयमा पर्ने समस्याको जिम्मेवारी आफुले नलिने भन्दै उनले शिक्षकहरुले काम छोडे त्यसबाट पर्ने असरको जिम्मा स्थानीय सरकारले लिनुपर्ने बताएका छन् ।
उता नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बिधालयले कुनै बाहनामा बिद्यार्थीबाट शुल्क उठाउन नपाउने बताए । उनले बिधालयको प्रशासनिक खर्चको व्यवस्थापन सङ्घीय सरकारले गर्दै आएको उल्लेख गर्दै त्यसमा अपुग भए त्यो नगरपालिकाले बेहोर्ने बताए । “हामीले २०७९ सालदेखि नै बिद्यार्थीसँग कुनै शुल्क लिन पाइने छैन भनेर निर्णय गरेका छौँ ।” उनले भने, “बिधालयका लागि थप जनशक्ति व्यवस्थापन देखि अन्य रेखदेख स्थानीय सरकारले गर्दै आएको छ र गर्छ पनि ।” उनले बिद्यार्थीबाट परिक्षा शुल्क भने बिधालयले उठाइरहेको स्वीकार गरेका छन् ।










