शेयेर गर्नुहोस
झलनाथ खनाल, अछाम २० वैशाख /
अछामको रामारोशन गाउँपालिकाले गत शैक्षिकसत्रबाट शैक्षिक रुपान्तरण अभियान सञ्चालन गर्यो ।
सामुदायिक बिधालयको गुणस्तर खस्किँदै गएको भन्दै बिद्यार्थीलाई अध्ययनमा केन्द्रित गर्दै शिक्षकलाई अध्यापन गराउने विषयमा जिम्मेवार बनाउनकै लागि अभियान सुरु सञ्चालन गरेको थियो । जुन अभियानको पहिलो वर्षको वस्तुस्थितिलाई हेर्दा सैद्धान्तिक रुपमा शैक्षिक रुपान्तरण अभियान निकै प्रभावकारी भएको भनिएता पनि परिणामका आधारमा त्यस्तो देखिएको छैन । सैद्धान्तिक रुपमा बिद्यार्थीहरुमा अध्ययन गर्ने बानीको विकास हुनुका साथै शिक्षकहरुमा पनि जिम्मेवारी बोध भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी बताउँछन् ।
“वार्षिक परिक्षाको नतिजा हेर्दा शैक्षिक रुपान्तरणको उपलब्धि खासै देखिँदैन । किनभने हाम्रो बिद्यार्थी उतिर्ण दर हर्दा ११/१२ प्रतिशत मात्रै हो ।” उनले भने, “बिद्यार्थी उतिर्ण दर सुधार एकवर्षमै हुन सम्भव पनि होइन । सुधारका सुचक भने बढेका छन् ।” अभियानको पूरा परिणाम आउन केहि वर्ष लाग्ने प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । उनका अनुसार रुपान्तरण अभियानले आगामी दिनमा पनि निरन्तरता पाउने छ । गएको वर्षभन्दा यसवर्ष रुपान्तरण अभियानले सैद्धान्तिक मात्रै नभई गुणात्मक रुपमा पनि केही सुधार हुने विश्वास गरिएको छ ।
उसो त एसईईको परिक्षाको नतिजालाई कयौं अभिभावक र सामाजिक अगुवाले पर्खेर बसेका छन् । रुपान्तरण अभियानको उपलब्धि एसईईको नतिजामा खोज्ने प्रयास भए पनि एसईईको नतिजा पनि सोचेजस्तो नआउने भण्डारीको अनुमान छ । “हिजो एसईईको परिक्षामा चिट चोराएर भए पनि पास गर्नुपर्छ भन्ने मानसिकता तपाइँ हामी अध्ययन गर्दादेखी नै थियो । त्यो यसपटक भएन ।” उनले भने, “यसपटक आउने नतिजा बिद्यार्थीहरुले आफ्नै क्षमता र सीपको आउने छ ।”
एसईई परिक्षाका लागि बिद्यालयहरुले भने निकै मिहेनत गरेको पाइएको छ । परिक्षा लक्षित कक्षा सञ्चालन गर्दै बिद्यार्थीहरुलाई बिधालयमै खाना खुवाएर पनि अध्ययनमा सहभागी गराइएको पिंगला देवि माद्यामिक बिधालय मलातिकोटका प्रधानाध्यापक प्रेमराज खनालले बताए । “शिक्षक अनि बिद्यार्थीहरुले निकै मिहेनत गरेका छन् । पढाईमा निकै सुधार भएको छ । अभिभावकको राम्रो साथ पाइएको छ ।” प्रधानाध्यापक खनाल भन्छन्, ” रुपान्तरण अभियानको उपलब्धि हेर्दा अहिले नै परिणाममा देखिने खालको नतिजा आउने समय अहिले नै भैसकेको छैन । अभियान निरन्तर भए अबका दिनमा शैक्षिक सुधारले भने फड्को मार्ने छ ।”
उनले अभियानले शिक्षकलाई जिम्मेवार बनाएको बताए । ग्रामीण क्षेत्रका बिधालयमा विद्यार्थी टिकाउन चुनौती देखिएका बेला अभियानले अभिभावक र बिद्यार्थीको ध्यान तान्ने विश्वास गाउँपालिकाले लिएको छ । ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तरमा प्रश्न गर्दै त्यस क्षेत्रमा बसोबास गर्दै आएका अभिभावकहरु पनि आफ्नो बालबालिकालाई शहर केन्द्रित बिधालयमा पढाउँदै आएका छन् । त्यस क्षेत्रका बालबालिकालाई त्यतै रोक्ने योजनाका साथ सुरु गरिएको शैक्षिक रुपान्तरण अभियानमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावकहरुको सकारात्मक सक्रियताले गुणस्तर सुधार भइ बिद्यार्थीहरुलाई वर्तमान आवश्यकताको शिक्षामा पहुँच पुर्याउने आशाका प्रतिबिम्बहरु देखा पर्न थालेका छन् ।










