रोक्का जग्गाको अध्ययन थालियो

शेयेर गर्नुहोस


समाधान समाचार
टीकापुर २७ साउन /
टीकापुर नगर विकास समितिले बिक्री गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गाको अध्ययन थालिएको छ ।
पछिल्लो संरचनाअनुसार नगरपालिकाका नगर प्रमुख नै नगर विकास समितिको अध्यक्ष हुने व्यवस्था भएसँगै अख्तियारले रोक्का गरेको १ सय ६६ कित्ता जग्गाको अध्ययनका लागि समिति नै गठन भएको हो । २०७७ असार १ गते टीकापुर नगर विकास समितिका अध्यक्ष तपेन्द्रबहादुर रावलको अध्यक्षतामा बसेको बोर्ड बैठकले मोहनसिंह बि.क. को संयोजकत्वमा चार सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । एक महिनाको समय पाएको उक्त छानबिन समितिले एक महिनाको अवधिमा पूरै फाइलको अध्ययन गर्न नसकेपछि साउन ११ गते बसेको बैठकले पुनः एक महिना समय थप गरी अध्ययनको कामलाई निरन्तरता दिएको टीकापुर नगर विकास समितिका प्राविधिक एवम् छानबिन उप–समितिका सदस्य नेत्र रावलले जानकारी दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेका जग्गा फुकुवा गरी पाउँ भनी पेश भएका फाइलहरुको अध्ययन गरी राय, सुझावसहितको प्रतिवेदन पेश गरिने सदस्य रावलले बताएका छन् । उनका अनुसार समितिमा मालपोत कार्यालय टीकापुरका प्रमुख, नापी कार्यालय टीकापुरका प्रमुख समेत रहने गरी छानबिन समिति गठन गरिएको छ ।
सदस्य रावलले असार १ गतेको निर्णयबाट समिति गठन भएपश्चात् जग्गा धनीको निवेदन कम परेका कारण पुनः म्याद थप गरिएको भन्दै सोमबारसम्म आठजनाले कार्यालयमा निवेदन पेश गरेको बताएका छन् । छानबिन उप–समितिले रोक्का भएका जग्गाको फाइलको अध्ययन गरी बोर्डलाई प्रतिवेदन बुझाउने र बोर्डले त्यही प्रतिवेदनका आधारमा संघीय मन्त्रालयमार्फत् जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाइने उप–समितिका संयोजक मोहनसिंह बि.क.ले बताएका छन् ।
२०६६ सालदेखि २०६८ सालसम्म तत्कालीन टीकापुर नगर विकास समितिको अध्यक्ष पदमा रहेका नेत्रप्रसाद जैशीको कार्यकालमा बिक्री भएका १ सय ६६ कित्ता जग्गामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको बताउँदै संयोजक बि.क.ले ती १ सय ६६ कित्ता बाहेक अन्य जग्गाको मात्र अध्ययन गरिने बताएका छन् ।
‘तत्कालीन अध्यक्ष नेत्रप्रसाद जैशीको पालामा बिक्री भई अख्तियारले रोक्का गरेको जग्गाको हामी अध्ययन गर्दैनौं ।’ संयोजक बि.क.ले भने ‘त्योभन्दा अन्य समयमा भएका रोक्का जग्गाको अध्ययन गरी प्रतिवेदन बोर्डलाई बुझाउने जिम्मेवारी पाएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *