लिलाम नहुँदा सयौं मोटरसाइकल कवाड बने

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०५ बैशाख /
कैलालीको टीकापुर नगरपालिका वडा नं.९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौं मोटरसाइकल पार्किङमा छन् । त्यहाँ रहेका सत प्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइकल लगायत भन्सारमा रहेका सवारीसाधन कवाडी बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीको संगमले काम नलाग्ने स्थितिमा पुगेका हुन ।
उसो त भन्सार कार्यालयले एक वर्षदेखि भन्सारमा आएका अवैध सवारीसाधनको लिलाम प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । भन्सारमा सयौं मोटरसाइकल मात्रै नभई दर्जनौं अटो रिक्साहरु छन् भने साइकल र चार पाङ्ग्रे सवारीसाधन पनि छन् । कैयौं मोटरसाइकलका पार्टपुर्जा नै छैन । लिलाम प्रक्रिया झन्झटिलो भएका कारण भन्सारले त्यसमा चासो दिन सकेको छैन ।
लिलाम गर्नु पहिले इन्जिनियरले सबै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा सबैभन्दा झन्झट इन्जिनियरलाई बोलाउनु भएको भन्सार कार्यालयका निमित्त प्रमुख तुलसी राम थारु बताउनुहुँन्छ । “सबैभन्दा असजिलो काम भएका कारण भनेको समयमा सवारीसाधनको लिलाम गर्न सकिएको छैन ।” उहाँ भन्नुहुन्छ, “प्रक्रिया लामो छ । इन्जिनियर बोलाउनु पर्छ । भनेको समयमा इन्जिनियर आउँदैनन् । यातायात कार्यालयबाट मान्छे आउनुपर्छ । झन्झट भएकै कारण पनि समयमा काम हुन नसएको हो ।”
गत आर्थिक वर्षमा भन्सारले ८६ मोटरसाइकल र एउटा स्कारपियो लिलाममा बिक्रि गरेको थियो । कोरोना संक्रमण सुरु भएपछिको त्यो लिलाम प्रक्रिया पहिलो थियो ।त्यसपश्चात भन्सारले सवारीसाधनको लिलामीका लागि कुनै पहल नगरेको पाइएको छ । त्यतिमात्र होइन, भन्सार कार्यालयसँग कति सवारीसाधन त्यसरी थन्किएका छन्, त्यसको एकिन तथ्यांक पनि छैन । “भन्सारमा यति नै सवारीसाधन छन भन्ने तथ्यांक हामीसँग छैन ।” निमित्त प्रमुख थारु भन्नुहुन्छ, “केही पुराना त केही नयाँ भएका कारण एकिन तथ्यांक भन्सारले राखेको छैन । फरकफरक तथ्यांक भने हुनसक्छ ।”
राजस्व संकलनमा पनि भन्सार निकै पछाडि परेको छ ।चालू आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी हुँदा भन्सारले लक्ष्यको ३५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ । अझै लक्ष्य पूरा गर्न भन्सारले दुई महिनामा कुल राजस्वको ६५ प्रतिशत संकलन गर्नुपर्ने देखिन्छ । जो कुनै सम्भावना पनि छैन । वैशाखसम्मको तथ्यांक हेर्दा भन्सारले पाँच करोड ९१ लाख १८ हजार नौ सय रुपैयाँ राजस्व संकलन गरेको छ । असार मसान्तसम्म भन्सारले १६ करोड ९४ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो । लक्ष्यको सबैभन्दा बढी असोजमा ८२ प्रतिशत र सबैभन्दा कम भदौ र मंसिरमा १८ प्रतिशत राजस्व संकलन भएको छ ।
भन्सार कार्यालयका प्रमुख तिर्थराज पाश्वानले भन्सारको समस्या राजस्व संकलनमा कमि आउनु मात्रै नभएको बताउनुभएको छ । उहाँले भन्सार कार्यालयलाई चाहिने आवश्यक उपकरण नै नभएको बताउँदै यस्तो अवस्थामा कार्यालय सञ्चालन गर्न निकै कठिन भएकोले थुप्रै व्यवस्थापकीय पाटाहरुको सुधार आवश्यक रहेको बताउनुभयो । “कार्यालयमा एउटा गतिलो कम्प्युटर सम्म छैन । केही महत्त्वपूर्ण शिर्षकमा बजेट नै रहेनछ । जता पनि अस्तव्यस्त अवस्था कसरी काम गर्नु ?” कार्यालय प्रमुख पाश्वानले भन्नुभयो, “विभागबाट केही बजेट माग गर्नको लागि काठमाडौं पुग्नुपरेको छ । केही बजेट विनियोजन भयो भने कार्यालयलाई व्यवस्थापन गर्न सके त्यसपछि अन्य कुराको व्यवस्थापन गर्न समय लाग्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *