विकासका एजेन्डा लिएर नगरपालिकाको टोलि राजधानी

शेयेर गर्नुहोस


समाधान समाचार , भजनी ०१ फागुन /
भजनीको भ्रमण प्रतिनिधिमण्डलले भजनी क्षेत्रको विकासका लागि प्रधानमन्त्री तथा विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाउन संघीय राजधानी काठमाडौं पुगेको छ ।
अन्य स्थानीय तह भन्दा धेरै सम्भावनाहरु भएपनि भजनी नगरपालिकामा संघीय कार्यक्रमहरु नपरेको भन्दै मुक्तकमैया, सुकुम्बासीहरुको व्यवस्थापन र विकासका सम्भावनाहरुमा सहयोगका लागि नगरपालिकाको प्रतिनिधिमण्डल ज्ञापनपत्र सहित सरकारलाई सहयोग र सहकार्यका लागि संघीय राजधानी पुगेको हो । भ्रमण प्रतिनिधिमण्डल राष्ट्रिय सभा सदस्य हरिराम चौधरी, सुदुरपश्चिम प्रदेश सभा सदस्य बिरभान चौधरी, भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी, भजनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशब बुढा, नेपाली काङ्ग्रेसको तर्फबाट वीर बहादुर हमाल, नेकपा एकीकृत समाजबादीको तर्फबाट टीकाराम भण्डारी, जनता समाजवादी पार्टीकोतर्फबाट लक्षिराम चौधरी, मुक्त कमैया प्रतिनिधि लल्लु डगौरा, भरत लाल डगौरा, लाहानु चौधरी लगायत १४ जनाको समूह रहेको छ ।
विशेषगरी भजनी नगरपालिकामा आवास तथा काठ खरिदका लागि अनुदान पाउन बाकी रहेका ४ सय ४५ घरधुरीका मुक्तकमैयाहरुलाई उपलब्ध गर्नुपर्ने अनुदान यथाशीघ्र उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बझाइएको छ । त्यस्तै गरी भ्रमण प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय, भुमी ब्यवस्था, भौतिक पुर्बाधार, जलस्रोत,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएको छ ।
विशेषगरी दुईवटा मुद्दामा केन्द्रित रहहेको नगरपालिकाको भ्रमण प्रतिनिधिमण्डलले पहिलो मुक्तकमैयाको समस्या समाधान र दोस्रो भजनी क्षेत्रको विकासका एजेन्डामा मातहतका मन्त्रालयमा मन्त्रीहरुलाई भेट्दै आवश्यक बजेट विनियोजन गरि सहजीकरणका लागि आग्रह गरेको नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताएका छन् । उनले नगरपालिका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, निर्वाचित सांसद, लक्षित समुहको प्रतिनिधि र जनप्रतिनिधिहरुको संयुक्त भ्रमण प्रतिनिधिमण्डल विकासका साझा योजनाको साथ गएको बताएका छन् ।
नगर प्रमुख चौधरीले भजनी क्षेत्रमा अझै पनि थुप्रै समस्याहरुबाट नागरिकहरू ग्रसित रहेको बताउँदै नागरिकहरुको सुरक्षाका लागि स्थानीय सरकार गम्भीर रहेको बताएका छन् । “स्थानीय क्षेत्रबाट हुने काम हामिले गर्दै आएका छौं । केही त्यस्ता समस्या छन् जुन स्थानीय सरकारको बजेटले समाधान हुन सक्दैनन् ।” नगर प्रमुख चौधरीले भने, “त्यसका लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्दै आएका छौं । विकासका एजेन्डामा हामी सबै भजनी वासी एक ठाउँमा आउनुको विकल्प छैन ।”
नगरपालिकालाई बाढीग्रस्त संकट क्षेत्र घोषणा गरि तत्काल राहत प्याकेज उपलब्ध गराउनुपर्ने, नगरपालिकाको वडा नं. ५ को नेपाल भारत जोड्ने गुलरिया घाटमा पक्की पुल निर्माण गरिनुपर्ने, मोहना, पथरैया, कान्द्रा र काँढा नदीमा उच्च चेक ड्याम सहितको बृहत पक्की तटबन्ध गरिनुपर्ने, प्रभावित क्षेत्रमा शुरक्षित आवास कार्यक्रम सहितको प्याकेज ल्याउनुपर्ने, पृथ्वीपुर छोटी भन्सारको स्तरोन्नति गरिनुपर्ने, कैलाशपुरी बाधका कारण बर्सेनि भजनी क्षेत्र डुवानमा पर्दै आएकोले राष्ट्रियस्तरबाट त्यसको दीर्घकालीन समाधान खोजिनुपर्ने, वडा नं. ५ को कुलियापुर र वडा नं. ७ को हिम्मतपुर दक्षिणतर्फको बस्ती लगायत जोखिम भएका बस्तीलाई सुरक्षीत ठाउँमा स्थानान्तरण गर्नुपर्ने, भजनी नगरपालिका वडा नं. ३ र ८ को डल्फिन क्षेत्र र लौकाहाभौकहा तालको सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुपर्ने लगायतका मागहरू राखिएको बताइएको छ ।
टोलि माघ २६ गते काठमाडौं गएको थियो भने फागुन २ गते फर्किने बताइएको छ ।
(समाचार बिना जानकारी कसैले आफ्नो समाचार नबनाउनु होला )

Leave a Reply

Your email address will not be published. Required fields are marked *