शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी ०२ साउन /
बाढी तथा डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिकाले विपद्को समयमा खोज, उद्धार तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले चार सुरक्षा निकायलाई बोटसहित विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।
भजनी नगरपालिकाले सिमा सुरक्षा बलका सशस्त्र प्रहरी तथा इलाका प्रहरी कार्यालय भजनीलाई प्रत्येक निकायलाई एक/एक थान रबर रेस्क्यु बोट, लाइफ ज्याकेट, गमबुट, उद्धार डोरी (रोप) तथा उद्धार कार्यमा आवश्यक सम्पूर्ण सामग्रीसहितको सेट हस्तान्तरण गरेको हो । कार्यक्रमका नगर प्रमुख केवल चौधरीले भजनी नगरपालिका बर्सेनि बाढी र डुबानबाट प्रभावित हुने भएकाले विपद् आउनुअघि नै प्रभावकारी पूर्वतयारी गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व भएको बताएका छन् ।
उनले सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री उपलब्ध गराएर विपद्को समयमा नागरिकको जीवन रक्षा, शीघ्र उद्धार तथा जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी आवश्यक स्रोतसाधनको व्यवस्थापनलाई निरन्तरता दिने बताए । कार्यक्रममा उपप्रमुख राजु तिरुवाले विपद् व्यवस्थापनमा स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको सहकार्य अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उपलब्ध गराइएका सामग्रीले बाढी तथा डुबानका बेला उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले उद्धार सामग्रीको नियमित संरक्षण, मर्मतसम्भार र आवश्यक पर्दा तत्काल परिचालन गर्न आग्रह गर्दै विपद् व्यवस्थापनमा पूर्वतयारी नै सफल प्रतिकार्यको आधार भएको बताएका छन् ।वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु राज न्यौपानेले भजनी नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखी पूर्वतयारी, उद्धार सामग्री व्यवस्थापन, क्षमता विकास तथा सुरक्षा निकायसँगको समन्वयलाई निरन्तर सुदृढ गर्दै आएको जानकारी दिए ।









