शेयेर गर्नुहोस
टीकापुर ०३ साउन /
जिल्ला स्वास्थ्य कार्यालय कैलालीको सहयोग तथा टीकापुर नगरपालिकाको समन्वयमा टीकापुर योगाश्रम परिसरमा आधुनिक बाह्य खुला जिम सञ्चालनमा आएको छ।
योग, ध्यान र आधुनिक शारीरिक व्यायामलाई एउटै स्थानबाट प्रवर्द्धन गर्दै आएको योगाश्रममा खुला बाह्य जिम पनि सञ्चालनमा आएको हो । योग, ध्यान तथा नियमित अभ्यासमार्फत समाजलाई निरोगी, स्वस्थ र अनुशासित बनाउने उद्देश्यका साथ सक्रिय रहेको टीकापुर योगाश्रमको योगदानलाई मूल्याङ्कन गर्दै जिल्ला स्वास्थ्य कार्यालय कैलालीले आउटडोर जिमका लागि आवश्यक आधुनिक उपकरण उपलब्ध गराएको हो ।
हस्तान्तरण विवरणअनुसार योगाश्रममा डबल क्रस वाकर, एयर वाकर, ट्विस्टर, स्ट्यान्डिङ ट्विस्ट ट्रिपल, डबल ओपन जिम इलिप्टिकल ट्रेनर, लेग प्रेस डबल, आउटडोर साइकल तथा पुल–अप/डिप स्टेशन लगायतका आधुनिक व्यायाम उपकरण जडान गरिएका छन् । यी उपकरणमार्फत बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका व्यक्तिले खुला वातावरणमै निःशुल्क शारीरिक व्यायाम गर्न सक्नेछन् ।
योगाश्रमका संस्थापक अध्यक्ष पृथ्वी रावलले करिब ४० वर्षअघि परिकल्पना गरेका कुराहरूले पूर्णता प्राप्त गर्दै नयाँनयाँ पूर्वाधार र सुविधा सहित बृहत्तर रूपमा विकास हुँदै गएको बताएका छन् । योग, ध्यान, प्राकृतिक उपचार र स्वास्थ्य जीवनशैली प्रवर्द्धनमा निरन्तर क्रियाशील रहेको योगाश्रममा आधुनिक खुला जिम थपिएसँगै यसको सेवा र प्रभावकारिता अझ विस्तार हुने विश्वास उनले गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीबाट उक्त खुला जिम स्थापना तथा उपकरण जडानका लागि ८ लाख ९७ हजार ९ सय ८ रुपैयाँ बजेट खर्च गरिएको छ । यस योजनाले टीकापुर क्षेत्रका नागरिकलाई नियमित व्यायामको सहज पहुँच उपलब्ध गराउनुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नेपालकै सबैभन्दा ठूलो तथा व्यवस्थित योगाश्रममध्ये परिचित टीकापुर योगाश्रममा आधुनिक खुला जिम सञ्चालनमा आएपछि योग अभ्याससँगै शारीरिक तन्दुरुस्तीका लागि आवश्यक व्यायाम गर्ने सुविधा पनि थपिएको छ । नगरपालिकाले यसअघि टीकापुर चिल्ड्रेन पार्कमा पनि खुला जिम सञ्चालनमा ल्याएर नि:शुल्क जिम गर्ने व्यवस्था स्थानीय नागरिकहरुलाई मिलाएको छ ।










