शेयेर गर्नुहोस
टीकापुर ०२ साउन /
जेआर प्रोडक्सन हाउसको ब्यानरमा टेलि सिरियल “सम्धी राजा” को छायांकन सुरु भएको छ ।
समाजमा घट्दै गएका विकृति, विसंगतिलाई नाट्य शैलीमा नागरिकहरू माझ ल्याउने उद्देश्यका साथ “सम्धी” राजा टेलि सिरियलको छायांकन सुरु भएको हो । गुडिमुन्टे जोडी (झलनाथ खनाल र राजेन्द्र विश्वकर्मा) को लेखन तथा निर्देशनमा तयार हुन लागेको टेलि सिरियलको निर्माण जेआर प्रोडक्सन हाउसले गर्ने छ भने सिरियलको पहिलो भाग साउन १५ गते जेआर प्रोडक्सन हाउस एनपिएल युटुव च्यानलमा हेर्न सकिनेछ । सिरियलको छायांकन फोटो रोटो स्टुडियो टीकापुरले गर्ने छ ।
लामो समयसम्म जनचेतनामूलक सडक नाटक लगायतका सन्देशमुलक कार्यक्रम मार्फत समाजमा चेताना फैलाउँदै आएको गुडिमुन्टे समुहले टेलि सिरियल मार्फत देशभर जनचेतना फैलाउने उद्देश्य रहेको निर्देशक राजेन्द्र विश्वकर्मा बताउँछन् । उहाँका अनुसार देशमा भैरहेका घटनाहरुलाई नाटकमा चित्रण गर्दै दर्शकको माझमा लैजाने काम सिरियलले गर्ने बताएका छन् । साथै स्थानीय स्तरका समस्यालाई सिरियलमा प्राथमिकता दिने उनको भनाइ छ ।
कलाकार नवराज रिमालले स्रोतसाधनको अभावका बाबजुद सुरु हुन लागेको सिरियलले समाजका वास्तविक घटनालाई चित्रण गर्दै त्यसको समाधानका लागि सम्बन्धित निकायलाई सचेत गराउने विश्वास व्यक्त गरे । लामो समयसम्म कलाकारिताको अनुभवलाई भिडियोमा प्रस्तुत गर्दा त्यस्ले राम्रो सन्देश प्रवाह गर्ने विश्वास गर्दै निरन्तरताको शुभकामना दिएका छन् । कलाकार गोपाल सम्राटले समाजलाई राम्रोसँग बुझेर समुहले टेलि सिरियल सुरु गरेकोले सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले कलाकारितालाई व्यावसायिक बनाउँदै देशकै उत्कृष्ट टेलि सिरियलको जन्म हुने विश्वास गरेका छन् ।
टेलि सिरियल “सम्धी राजा”को छायांकन टीकापुर नगरपालिका वडा नं. १ स्थित एकतानगर र विशालनगर शिविरका साथै आसपासका क्षेत्रमा हुनेछ ।









