शिवलाल जसले समोसा बेचेर सपना पूरा गर्नुभयो

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १४ बैशाख /
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उहाँको नामभन्दा बढी परिचीत समोसा र समोसा बनाउने ठेला छ । २० वर्षदेखि त्यहीँ ठेला । त्यहीँ समोसाको स्वाद । जुन अझै उस्तै छ । त्यो भन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उहाँको जिवनशैली र पूरा भएको सपना ।
अरुको घरमा कमैया गरेर जिविका चलाउँदै आउनुभएका शिवलालको सपना थियो एउटा आफ्नै घर बनाएर बस्ने । कमैया भएर अरुको घरमा काम गर्दाको पीडा भन्दा साहुका बचन र परिवारको स्थिति देखेर सधै चिन्तामा हुने शिवलाल छोराहरुको भविष्य बनाउनका लागि त्यहाँबाट बाहिर निस्कनुभयो । त्यहीँ सपनाले कुनै दिन कमैयाको काम छोडेर सडक किनारमा बदाम बेच्न सुरु गर्नुभएका शिवलाल बदाम नहुने सिजनमा तरकारी ब्यापार गर्दै सपनालाई साकार बनाउनतिर लाग्नुभयो । “चार जनाको परिवार । छोराहरू सानै । साहुको घर छोडेर भाडाको बसाई हाम्रा लागि निकै महंगो भयो ।” शिवलाल भन्नुहुन्छ, “के खाने भन्ने थियो । त्यो भन्दा बढी चिन्ता घरको भाडा तिर्न हुन्थ्यो । त्यो बेलाको दुख सम्झियो भने अझै विरक्त लागेर आउँछ । मनमा निकै पीडा महसुस हुन्छ ।”
अहिले शिवलालको जिवनी निकै फेरिएको छ । उहाँले अन्तिम व्यापारको रुपमा एउटा ठेलामा समोसा बनाएर बेच्न सुरु गरेपछि उहाँले पछाडि फर्केर हेर्नुपरेको छैन । समोसा बेचेरै उहाँले जग्गा खरिद गर्नुभयो । एउटा सुन्दर घर पनि जोड्नुभयो । समोसासँगै अन्य फास्टफुडका परिकार पनि थप्दै जानुभयो । तर शिवलालको समोसा जति परिचित अरु परिकार बन्न सकेनन् । त्यतिमात्र होइन दुई छोराहरूलाई पनि व्यापारमा लगानी लगाउनुभयो । “कमाई कति गरे त्यो कुनै लेखाजोखा केही छैन । समोसा बेचेरै मैले आफ्ना सपना पूरा गरेको छु ।” शिवलाल भन्नुहुन्छ, “दुबै छोरा व्यापार गर्छन् । अहिले सबै आआफ्नो कमाएर खाने स्थितिमा पुगेका छौं ।”
जब शिवलालले समोसा बेच्न सुरु गर्नुभयो त्यो बेला दुई समोसाको पाँच रुपैयाँ पर्थ्यो । अहिले समय निकै बदलिएको छ । त्यसबेला पाँच रुपैयाँका दुई समोसा बेच्ने शिवलाल २० रुपैयाँको एउटा समोसा बेच्नुहुन्छ । ग्राहकको कमि छैन । दैनिक ७ देखि १० हजारसम्मको पनि व्यापार हुन्छ । राम्रो आम्दानी गर्दै आउनुभएका शिवलालको सफलतमा उहाँकी श्रीमती राजकुमारी चौधरी ठूलो देन छ । शिवलालले गरेका हरेक संघर्षमा सँगसँगै हिड्नुभएकी राजकुमारी नै आफ्नो प्रेरणा भएको उहाँ बताउनुहुँन्छ । “मैले व्यापार गर्दादेखि आजसम्म श्रीमान श्रीमती छुटिनुपरेको छैन । श्रीमतीले समोसा बनाउने काम गर्छिन् । म पकाउने र बिक्री गर्ने ।” शिवलालले भन्नुभयो, “साथमा सहयोगी राम्रो भयो भने पनि मान्छे बिचलित नहुँदो रहेछ ।”
शिवलालले छोराहरूलाई पनि राम्रो शिक्षा दिएर दक्ष बनाउने अर्को सपना थियो । त्यो सपना भने पूरा हुन नसकेको उहाँ बताउनुहुँन्छ । छोराहरूले सीप सिकेर आफै स्वरोजगार बनेकोमा भने गर्भ छ । उहाँको जेठो छोरा मोटरसाइकल मर्मतसम्भारको ग्यारेज खोलेर वस्नु भएको छ भने कान्छो छोरा काठमाडौंमा व्यापार गर्नुहुन्छ ।
उहाँ पैसाकै लागि विदेश जानू मुर्खता भन्नुहुन्छ । कामको सम्मान गर्न सिकेको मान्छेले विदेशिनु नपर्ने उहाँको भनाइ छ । “विदेशमा जस्तो पनि काम गर्न सक्ने मान्छे समाजमा काम गर्न लाज मान्छ । समाजका अगाडि आदर्श बनेको हाम्रो बानीले हाम्रो नियत बिगारेको छ । उहाँ भन्नुहुन्छ, “नभए यतै पनि कमाइ राम्रो छ । महिना भरी काम गरेर विदेश कमाउने पैसा त्यति मिहेनत स्वदेशमा गरे कमाउन गाह्रो छैन । जस्तै हामीलाई किन विदेश जानुपर्यो ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *