शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी २१ वैशाख /
गुणस्तरीय शिक्षामा सुधार ल्याउन सरोकारवाला निकाय सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
भजनी नगरपालिका भित्रका सामुदायिक बिधालयका प्रधानाध्यापकहरुसँग गरिएको गुणस्तरीय शिक्षाका विषयमा गरिएको संवाद कार्यक्रममा सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन । भजनी जालापा मिडियाद्वारा आयोजित उक्त कार्यक्रममा क विद्यालयका प्रधानाध्यापक, शिक्षक ,संचारकर्मीहरूको सहभागिता रहेको थियो ।
प्रधानाध्यापक संजाल भजनीका संयोजक पदम बहादुर शाहीले वर्तमान शैक्षिक अवस्थाको समीक्षा गर्दै विषयगत शिक्षकको अभाव, अभिभावक शिक्षामा कमी, दरबन्दी मिलानमा देखिएको असन्तुलन तथा योजनाको प्राथमिकिकरणमा देखिएका समस्याले शिक्षामा अपेक्षित सुधार हुन नसकेको बताएका छन् । उनले विद्यालय तहबाटै सुधारका पहल गर्न सकिने उल्लेख गर्दै त्यसका लागि खुला संवाद, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । “शिक्षकहरूबीच एकता र सहकार्य नहुँदा यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइमा परिरहेको छ ।” उनले भने, “विद्यालयलाई राजनीति र गुटबन्दीबाट मुक्त राख्न जरुरी छ ।”
महुन्याल माध्यमिक विद्यालय भजनीका प्रधानाध्यापक विद्या प्रसाद भट्टले शिक्षकहरूको भूमिकामाथि टिप्पणी गर्दै प्राज्ञिक क्षमताभन्दा बढी पेशागत प्रोफेसनल प्रवृत्ति बढ्दै जाँदा शिक्षाको गुणस्तरमा प्रश्न उठ्ने गरेको बताएका छन् ।
प्रधानाध्यापक भट्टले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र नियमनकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । “हाम्रोमा समन्वयको अभाव छ । समन्वय अभावकै कारण धेरै राम्रो योजना पनि कार्यान्वयन हुन सकिरहेका छैनन् ।” उनले भने, “समन्वय र सहकार्य नभएकै कारण शिक्षा माथी प्रश्न थपिँदै गएको देखिन्छ ।”
लागुऔषध दुर्व्यसनीको समस्याले विद्यार्थीको शैक्षिक गतिविधिमा समस्या हुँदै आएको बताउँदै सहभागी शिक्षकहरुले यसको नियन्त्रणका लागि विद्यालय, अभिभावक र समुदाय सबैले संयुक्त रूपमा ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागीहरुले स्थानीय तहमा शिक्षाको गुणस्तर सुधारका लागि नीति निर्माण मात्र नभई प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् । उनीहरूले शिक्षक तालिम, प्रविधिको समुचित प्रयोग, विद्यार्थी केन्द्रित शिक्षण विधि तथा नियमित अनुगमन प्रणालीमा जोड दिएका छन् ।









