शेयेर गर्नुहोस
टीकापुर १९ माघ /
टीकापुर नगरपालिकाले बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालय सञ्चालन तथा त्यसको रेखदेखका लागि सूचना आव्हान गरेको छ ।
लामो समयदेखि प्रयोगविहीन बन्दै आएका टीकापुर बजार क्षेत्र भित्रका सार्वजनिक शौचालयलाई नियमित सञ्चालनमा ल्याउने उद्देश्यले नगरपालिकाले सुचना आह्वान गरेको हो । नगरपालिकाले सञ्चालनका लागि सुचना आह्वान भएका शौचालय मध्ये हाल दुईवटा शौचालय बन्द अवस्थामा छन् । टीकापुर भानु चोकमा रहेको शौचालय केही महिनादेखि सञ्चालनमा रहे पनि अस्पताल रोडमा रहेको र टीकापुर खुला मैदान परिसरमा रहेको सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन् ।
स्थानीयहरुलाई शौच गर्नका लागि सहज होस् र निर्माण भएका संरचना प्रयोगमा रहोस् भन्ने हेतुले बन्द रहेका शौचालयको संरक्षण र प्रबर्द्धन सहितको जिम्मेवारी दिइने गरी सुचना आह्वान भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिएका छन् । उनले नयाँ निर्माण गर्न भन्दा पनि भएका संरचनालाई प्रयोगमा ल्याउनु आवश्यक रहेको बताएका छन् ।
नगरपालिकाले शौचालयको दिगो सञ्चालन तथा व्यवस्थापनका लागि सुचना आह्वान गरेसँगै अस्तव्यस्त अवस्थामा रहेका सार्वजनिक शौचालय सञ्चालनमा आउने विश्वास गरिएको छ । “सधैभरी नगरपालिकाले ती शौचालयको रेखदेख र नियमन गर्न सक्ने स्थिति पनि छैन ।” प्रमुख प्रशासकीय अधिकृत धितालले भने, “त्यसको रेखदेख अनि नियमित खुला रहने गरी व्यक्ति, फार्म वा संघसंस्थाका लागि सुचना आह्वान गरिएको हो ।”
नगरपालिकाले शौचालय प्रयोग गरेबापत पिसाब गरेको पाँच रुपैयाँ र दिशा गरेको १० रुपैयाँ शुल्क लिने व्यवस्था गरेको छ । त्यसैअनुसार शौचालय सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोले शुल्क उठाउन पाउनेछ । साथै बिग्रेका संरचना मर्मतसम्भार गरेर नगरपालिकाले उक्त व्यक्ति वा फार्मलाई उपलब्ध गराउने बताइएको छ । यसरी शौचालय सञ्चालनमा आएपछि बजार क्षेत्रमा शौच गर्न समस्या नहुने विश्वास गरिएको छ ।
पटकपटक सार्वजनिक शौचालयको बहस बजार क्षेत्रमा उठ्दै आएको भए पनि त्यसको दिगो व्यवस्थापन हुन नसक्दा खुला ठाउँ अहिले पनि नागरिकहरू लुकिछिपी शौच गर्न बाध्य छन् । नगरपालिकाले जारी गरेको सुचनाको म्याद माघ २१ गतेसम्म रहेको छ ।






