सांसद पद खारेजको माग गर्दै सर्वोच्चमा रिट

शेयेर गर्नुहोस


टीकापुर १७ चैत /
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सांसद पद खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
चौधरी उम्मेदवार हुनुअघि विवरण ढाँटेर उम्मेदवार भएको र उक्त कुरा राष्ट्रपति कार्यालयले कैद माफी दिएपछि जानकारी आएको दाबी रिटमा गरिएको छ । संवैधानिक इजलासमा दर्ता भएको रिटमा पेसी भने पछि तोकिने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।
अधिवक्ता वसन्त जोशीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिटमा ट्याक्टरमा आगो लगाएको मुद्दामा ६ महिना कैद बाँकी नै रहेको अवस्थामा ढाँटेर उम्मेदवारी दर्ता गराएकाले सांसद पद खारेजको माग गरिएको छ। ‘राष्ट्रपतिबाट केही समयअघि आममाफी पाएपछि उनले आगलागी मुद्दामा ६ महिना कैदको सजाय भुक्तान नगरेको जानकारीमा आएको छ,’ रिटमा भनिएको छ, ‘तर चौधरीले उम्मेदवारीको समयमा स्वघोषणा गर्दा कुनै पनि अभियोग नभएको र कैद बाँकी नरहेको दाबी गरेका थिए ।’
केही समयअघि सरकारको सिफारिसमा उनले ८ लाख बुझाएर माफी पाएका थिए । रिटमा माफी दिने प्रक्रियासमेत नमिलेको र उनी कुनै पनि राजनीतिक आन्दोलनका क्रममा सजाय नपाएकाले सांसद पद खारेज हुनुपर्ने जिकिर गरिएको छ । सरकारले दिएको आममाफी बदर गर्दै उनको सांसद पद खारेज गरेर कैलाली-२ मा उपनिर्वाचन हुनुपर्ने माग रिटमा गरिएको छ ।
२०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा २०७० वैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो । फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । बाँकेबाट उनलाई काठमाडौं हुँदै धनगढी लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *